काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको मानहानी मुद्दामा ९ महिनापछि सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले उनलाई अदालतको मानहानी गरेको ठहर गर्न नमिल्ने भन्दै रिट खारेज हुने फैसला सुनाएको हो।
तत्कालीन प्रहरी प्रमुखको नियुक्तिका बेलामा नेपाली कांग्रेसको केन्द्रीय समितिले अदालतले कार्यपालिकाको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भनेपछि २०७३ चैत ७ गते सर्वोच्चमा अवहेलना निवेदन दायर भएको थियो।
अधिवक्ता हरिप्रसाद मैनालीले दायर गरेको मानहानी ठहर गर्ने प्रमाण नपुगेको भन्दै सर्वोच्चले निवेदन खारेज हुने आदेश गरेको हो।
नेपाली कांग्रेस नेतृत्वको सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सर्वोच्चमा दायर भएको मुद्दामा सर्वोच्चले चन्दको नियुक्ति त्रुटिपूर्ण भएको फैसला गरेको थियो।
सोही फैसलालाई लिएर २०७३ को चैतमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले अदालतको आदेशले कार्यपालिकाको हस्तक्षेप गरेको टिप्पणी गरेको थियो। प्रहरी नियुक्ति प्रकरण समाप्त भएकाले हाल दोषी ठहर गर्न नमिल्ने अदालतको फैसलामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।