काठमाडाैं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार फागुन २० गते सम्ममा संविधानसँग बाझिएका सबै ऐन संशोधन गरिने बताएका छन्।
संसदीय मामिला पत्रकार समूहका नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा बधाई तथा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले गरेको व्यवस्थाअनुसार निर्धारित समयभित्रै सबै ऐन संसोधन गरिसक्ने बताएका हुन्।
संघीय संसदको दुवै सदनमा पर्याप्त छलफल, विचार विमर्श गरी प्रक्रियासम्मत ढंगले ऐनहरू पास गरिने पनि उनले बताए।
कतिपय पुराना ऐन सामान्य संशाेधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उनले समयभित्रै सबै प्रक्रिया पुरा गरेर आवश्यक कानुन संघीय संसदले पास गर्ने विश्वास व्यक्त गरे।
संघीय संसद बैठक प्रारम्भ भएको मितिले एक वर्षभित्र संविधानसँग बाँझिएका ऐन संसोधन गरी पास गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको छ।
त्यसैगरी संविधान कार्यान्वयनका लागि आवश्यक नयाँ कानुन पनि आगामी फागुन २० गतेभित्र संसदबाट पास भई प्रमाणिकरण भइसक्नुपर्ने व्यवस्था छ।
अध्यक्ष तिमिल्सिनाले सकारात्मक आलोचना मार्फत संसदका गतिविधि जनतामाझ पुर्याउने सवालमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचित पदाधिकारीलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।