काठमाडौं- महासमिति बैठकमा पेस हुने कांग्रेस विधानमा सहमति जुटेको छ।
७ सह-महामन्त्रीसहित कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचित हुने र केन्द्रीय समिति १ सय ६७ सदस्यीय हुने गरी प्रस्ताव गरिएको छ।
यसअघि एक जना उपसभापति र एक जना महामन्त्री सभापतिले मनोनित गर्न पाउनुपर्ने संस्थापन पक्षको प्रस्तावलाई भने इतर समूहले अस्वीकार गरेको थियाे।
नेता पाैडेलका अनुसार सहमतिपछि उपसभापति, महामन्त्री दुई/दुई जना तथा प्रत्येक प्रदेशबाट समावेशिताकाे आधारमा एक/एक जनाकाे दरले सह-महामन्त्री रहने भएका छन्। यी सबै पदका लागि निर्वाचन गर्नेमा कांग्रेस नेतृत्वमा सहमति जुटेकाे हाे।
यसअघि भएको सहमतिअनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टि व्यक्त भएपछि ७ सह-महामन्त्री बनाइने निर्णय भएको हो।
महिला, मधेशी, मुस्लिम, आदिवासी जनजाति, दलित, खस/आर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक/एक जना हुनेगरी सह-महामन्त्री बनाइने छ।
सह-महामन्त्रीहरुलाई सातै प्रदेशमा एक/एक जनाको नेतृत्व हुनेगरी जिम्मेवारी तोक्ने सभापति शेरबहादुर देउवा पक्षकाे प्रस्तावमा इतर पक्षले सहमति जनाएकाे हाे।
यसअघि कोषाध्यक्ष पदबाहेक अन्य पदाधिकारी निर्वाचित हुने ३ दिन अघिको सहमतिबाट संस्थापन पक्ष पछि हटेको थियो। निर्वाचित हुनैपर्ने अडानमा इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कृष्ण सिटौला र अर्जुन नरसिंह केसी उभिएका थिए। विधानमा किचलो थपिएसँगै नयाँ प्रस्तावमा छलफल भएकाे थियाे।
संस्थापन पक्ष इतरको अडानले निर्वाचित हुनुपर्ने पदाधिकारी संख्या बढाइएको हो। विद्यमान विधानमा सभापतिसहित एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ।
केन्द्रीय समितिमा सहमति जुटेको विधानमा सभापतिले २० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था गरिएको छ।
यसका साथै दुई प्रकारको सदस्यता हुनेछ। नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता हुने व्यवस्था गरिएको छ। नेपाली कांग्रेसको सदस्यता साधारण प्रकृतिको सदस्यता हो भने क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
वर्तमान विधानमा सभापतिले एक उपसभापति, एक महामन्त्री, एक सह-महामन्त्री र एक प्रवक्ता मनोनित गर्न पाउने व्यवस्था थियाे।
यसअघि पूर्व र वर्तमान पदाधिकारीहरुबीच भएको सहमतिलाई आज बसेकाे शीर्ष नेतृत्वकाे बैठकले संशाेधनसहित अनुमोदन गरेकाे हाे। अब साे प्रस्ताव केन्द्रीय कार्यसमिति हुँदै महासमिति बैठकमा पेस गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।