काठमाडौं– नेपाली कांग्रेसको विधानमा समावेशीताको आधारमा ७ सहमहामन्त्री बनाउनका लागि सबै पक्ष तयार देखिएका छन्। एक जना उपसभापति र एक जना महामन्त्री सभापतिले मनोनित गर्न पाउनुपर्ने संस्थापन पक्षको प्रस्तावलाई भने इतर समूहले अस्वीकार गरेको छ।
‘समावेशी बनाउनमा असहमति होइन, तर, मनोनित गर्ने विषय भने मान्य हुँदैन’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।
कोषाध्यक्ष पदबाहेक अन्य पदाधिकारी निर्वाचित हुने ३ दिन अघिको सहमतिबाट संस्थापन पक्ष पछि हटेको थियो। निर्वाचित हुनैपर्ने अडानमा इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कृष्ण सिटौला र अर्जुन नरसिंह केसी छन्। विधानमा किचलो थपिएसँगै नयाँ प्रस्तावले पनि प्रवेश पाएको छ।
विधानमा समावेशीताका आधारमा ७ सहमहामन्त्री बनाउने तयारी भएको छ। यसअघि भएको सहमतिअनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टि व्यक्त भएपछि ७ सहमहामन्त्री बनाउने तयारी भएको हो।
महिला, मधेशी, मुस्लिम, आदिवासी जनजाति, दलित, खस/आर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक/एक जना हुनेगरी सहमहामन्त्री बनाउने तयारी भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।
उनीहरु सबै आ–आफ्नो समुदायभित्रबाट प्रतिश्पर्धा गरेर निर्वाचित हुने व्यवस्था गर्ने वा सभापतिबाट मनोनित हुने बारेमा भने सहमति बनिसकेको छैन।
सहमहामन्त्रीहरुलाई सातै प्रदेशमा एक/एक जनाको नेतृत्व हुनेगरी जिम्मेवारी तोक्ने सभापति शेरबहादुर देउवा पक्षले प्रस्ताव तयार गरेको छ।
देउवा पक्षले कोषाध्यक्ष र प्रवक्ताबाहेक सबै पदाधिकारी निर्वाचित हुने भएकाले एक/एक जना उपसभापति र महामन्त्री मनोनयन सभापतिले गर्न पाउने व्यवस्था गर्न पनि प्रस्ताव गर्ने भएका छन्।
सभापतिले आफ्नो विश्वास पात्रलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने भएकाले कम्तिमा एक जना उपसभापति मनोनयन गर्न पाउने व्यवस्थाका लागि देउवा पक्षले अडान लिन लागेको हो।
यसअघि सहमति भएअनुसारका दुई/दुई जना उपसभापति र महामन्त्रीमध्ये एक/एक जना निर्वाचित र मनोनित गराउने वा दुई/दुई जना निर्वाचत र थप एक जना मनोनीत के गराउने भन्ने बारेमा पनि देउवा पक्षले विकल्प दिन लागेको हो।
देउवा पक्षले तयार पारेको प्रस्तावमा आज हाल पदाधिकारीहरुका बीचमा छलफल र संशोधन गराएर सहमति जुटेपछि केन्द्रीय समितिको बैठकमा पेस गरिने भएको छ।
महासमिति बैठकसँगै केन्द्रीय कार्यालयमा सहमतिका लागि केन्द्रीय समितिको बैठक पनि बस्ने विश्वकर्माले जानकारी दिए। केन्द्रीय समिति बैठकको समय भने निश्चित गरिएको छैन।
उता महासमिति सदस्यहरुलाई ‘भेडा÷बाख्रा’ बनाएको भन्दै युवा नेता पौडेलले आक्रोस पोखे। आज बस्ने केन्द्रीय समितिको बैठकमा सहमति गर्न दबाब दिने उनको भनाइ थियो। ‘सहमति नभए पनि फरक प्रस्तावसहित विधान महासमिति बैठकमा पेस गर्नुपर्छ। बैठकले विधान तय गर्छ’, पौडेलले भने।
गत मंसिर २९ गतेदेखि चलिरहेको महासमिति बैठक लम्बिँदै गएपछि बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामै गर्न लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।