पोखरा- नदीजन्य पदार्थ तस्करीमा रुपा गाउँपालिकाका जनप्रतिनिधि नै संलग्न हुने गरेको तथ्य खुलेको छ। रुपा-७ का वडा सदस्य मोती श्रेष्ठको समूहले सोही स्थानमा पर्ने मादी कुनाको मुखमा रहेको घाटबाट अवैध रुपमा नदीजन्य पदार्थ कारोबार गरिरहेको त्यहाँका स्थानीयले जानकारी दिएका हुन्।
लमजुङ र कास्कीको सीमानामा पर्ने मादी खोला पर्छ। खोलाबाट लमजुङतर्फको भागमा मध्यनेपाल नगरपालिका पर्दछ भने कास्की पट्टी रुपा गाउँपालिकाका वडा नम्बर १, ३ र ७ पर्दछन्।
रुपा गाउँपालिकाले मादी खोलाले छोएका ती ३ वटै वडाका किनारा (घाट)बाट असोज महिनादेखि नदीजन्य पदार्थ निकाल्न पाउने गरी गत साउनमा टेन्डर आह्वान गरेको थियो। जसमध्ये वडा नम्बर १ को बाट नदीजन्य पदार्थ निकाल्न ७ लाख रुपैयाँ र वडा नम्बर ३ बाट २७ लाख रुपैयाँमा टेन्डर पर्यो। वडा नम्बर ७ को घाटबाट नदीजन्य पदार्थ निकाल्नका लागि गाउँपालिकाले ५ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो। तर त्यो घाटमा टेन्डर परेन।
‘त्यसपछि पटकपटक गरी ५ पटकसम्म टेन्डर आह्वान गर्यौं। कसैले पनि टेन्डर हालेनन्,’ रुपा गाउँपालिका प्रमुख नवराज ओझा भन्छन्, ‘अहिले छैटौं टेन्डरको तयारी गरिरहेका छौं।’ पटक-पटक टेन्डर आह्वान गर्दा पनि नपरेपछि बुधबार गाउँपालिका प्रमुख, उपप्रमुख एवं सरोकारवाला निकायले अनुगमन गरे। जसमा त्यहाँका जनप्रतिनिधिले नै तस्करी गरिरहेको पाइएको छ।
वडाध्यक्षको मिलेमतोमा वडा सदस्यबाटै तस्करी
स्थानीय सरकार बन्नुभन्दा पहिले मादी किनारमा पर्ने सबै घाटबाट नदीजन्य पदार्थ निकाल्न जम्मा १ लाख रुपैयाँमा टेन्डरमा दिइन्थ्यो। यसको जिम्मा मोती श्रेष्ठले लिन्थे। उनका २ वटा ट्याक्टर छन्। त्यसबाटै उनले पोखरा, दमौलीलगायत ठाउँमा नदीजन्य पदार्थ कारोबार गरिरहेका छन्।
हातमा टेन्डरको प्रमाणपत्र थियो, निसंकोच बालुवा बोकेर प्रहरीकै अघि ओहोरदोहोर गर्थे उनी। स्थानीय सरकार बनिसकेपछि गाउँपालिकाले प्रमुख आयस्रोतका रुपमा घाटलाई मान्यो र घाटलाई ३ तहमा बाँढेर टेन्डर आह्वान गर्यो। २ ठाउँमा टेन्डर पर्यो तर वडा नम्बर ७ को घाटमा परेन। वडा नम्बर ७ मोती श्रेष्ठको कार्यक्षेत्र भित्रको एरिया हो।
स्थानीयबासीका अनुसार वडा सदस्य मोती श्रेष्ठले नै बालुवा र ढुंगा ‘सप्लाई’ गरिहेका छन्। ‘मोतीबाबुकै ट्याक्टरले खोलाबाट बालुवा र ढुंगा लैजाने गरेको छ। हिजो साँझसम्म पनि ट्याक्टर चलेको थियो,’ सार्वजनिक ठाउँमा थुपारेको बालुवा र ढुंगाको थुप्रो देखाउँदै एक स्थानीयले भनिन्, ‘यो थुपारेको माल पनि उहाँकै हो।’
ती स्थानीयका अनुसार वडासदस्य मोतीसँगै उत्तम श्रेष्ठ र युवराज श्रेष्ठले मादी नदीका ढुंगा अवैध रूपमा कारोबार गरिरहेका छन्। ‘कहिलेकाही त वडाध्यक्ष पनि आउनुहुन्छ,’ उनले भनिन्। गाउँपालिका प्रमुखसहित अनुगमनमा गएको दिनभर भने कुनै पनि ट्याक्टर चलेनन्। गतिविधि शून्य थियो।
अवैध काम हैन, व्यापार गरेको हुँ : वडा सदस्य श्रेष्ठ
वडासदस्य मोती श्रेष्ठले भने आफूले अवैध काम नगरेको दाबी गरे। उनले भने, ‘मैले त व्यापारिक हिसाबले मात्र काम गरेको हुँ। जनप्रतिनिधि भएर व्यापार गर्न पाउँदिन भने भन्नुस् के रे।’ सुरुमा उनले त्यहाँ थुपारेको बालुवामा आफू संग्लग्न नभएको जिकिर गरे तर पछि स्वीकारे।
‘हो यहाँ राखेको मेरै बालुवा र ढुंगा हो। मैले लमजुङबाट आएको बालुवा रोयल्टी तिरेर खरिद गर्ने गरेको छु,’ सार्वजनिक ठाउँमा व्यक्तिगत सामान थुपारेको बारे प्रष्ट्याउँदै श्रेष्ठले भने, ‘पहिले बाटोमा चिस्यान थियो। अनि यतै राखेको हो।’ उनको कुरामा फरक मत अन्य व्यवसायीले भने खोला किनार व्यक्तिको नाममा भएको र लालपूर्जा पनि भएको दाबी गरिरहे। दाबी गर्नेमा वडाध्यक्षसमेत थिए तर प्रमाण जुटाउन सकेनन्।
गाउँपालिकाले निकालेको टेन्डरबारे वडा सदस्य मोतीले पहिले जानकारी नै नभएको दाबी गरिरहे। तर पछि सबैले प्रश्न उठाउन थालेपछि स्वीकारे, ‘यो सानो घाटको टेन्डर महंगो भयो। कसले तिर्न सक्छ र त्यसको मूल्य?’ उनले आफूले ५ सय रोयल्टी तिरेरै बालुवा किनेको सुनाए।
‘मेरो पनि साधन भएकाले लमजुङको घाटबाट बालुवा लिएर आएर जम्मा गरें,’ श्रेष्ठले भने, ‘मेरो ट्याक्टर छ। मैले उहाँहरुसँग किनेको हो।’ रातीराती १५/२० वटा ट्याक्टर लमजुङ घाटका लागि गुड्ने भएकाले कुनाकोमुख घाटमा कसले तस्करी गरिरहेको छ थाहा नभएको र आफू उनीहरुको पछि लाग्न नसक्ने उनले सुनाए।
श्रेष्ठ उक्त घाटमा राम्रो ‘माल’ नभएकोले पनि टेन्डरमा फाइदा नहुने तर्क राख्छन्। ‘त्यत्रो रकम छ। यहाँ २०/३० टिप बाहेक अरु माल छैन, कसरी तिर्ने?’ अन्य ठाउँका उपभोक्ताले मादीको माल राम्रो हुन्छ भनेर भनेपछि आफूले पुर्याइदिने गरेको स्वीकार्दै उनले भने, ‘उपभोक्ताले नै लमजुङकोभन्दा मादीको माल राम्रो हुन्छ। त्यहींबाट ल्याइदिनुस् भन्छन्। त्यसपछि हामीले निकालेर लैजाने हो।’
हर्न बजाएर च्यालेन्ज गर्छन् : वडाध्यक्ष सुवेदी
वडाध्यक्ष दयासागर सुवेदीले पहिले आफूलाई खोलादेखि ढुंगा र बालुवा चोरीनिकासी भइरहको छ भन्ने कुरा थाहा नभएको जिकिर गरिरहे। पछि रातको समयमा हुनसक्ने बताए। तर स्थानीयबासीले नै दिउँसै निकासी भइरहेको सुनाएपछि उनले सम्हालिँदै भने, ‘खै म ३/४ दिनदेखि पोखरामा थिएँ। त्यही मौकामा चोरी निकासी भएको हुन सक्छ।’
वडाध्यक्ष सुवेदीले खोला किनारमा थुपारेको बालुवा र ढुंगा कसले र कहिले राखको हो भन्नेबारे थाहा नभएको दाबी गरिरहे। थुप्रो भएको ठाउँदेखि उनको घर मुस्किलले ५ सय मिटर टाढा छ। स्थानीयबासीका अनुसार उक्त बालुवा र ढुंगाका २/४ दिन अघि नभएर धेरै समय पहिलेदेखि नै त्यहीं छ।
वडाध्यक्षले रातको समयमा चोरी/निकासी हुने गरेको तथ्य प्रस्तुत गर्दैगर्दा त्यही गाउँकी एक स्थानीय महिलाले भने फरक मत राखिन्। ‘रातको समयमा हुँदैन। दिउँसै ट्याक्टर गुँड्छन्। हिजो (मंगलबार) पनि साँझ ९/१० बजेसम्म बालुवा ओसारिएकोथ्यो,’ पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भनिन्, ‘आज बिहानैदेखि एउटा पनि ट्याक्टर आएनन्। किन रहेछ भनेको त तपाईंहरू आउँदै हुनुहुँदो रहेछ।’
सोही ठाउँकै अर्का एक प्रत्यक्षदर्शीले बेलाबेलामा वडाध्यक्ष नै बालुवा थुपारेको ठाउँमा आउने गरेको खुलाए। उनले भने, ‘वडाध्यक्ष सा’ब पनि बेलाबेला आइराख्नुहुन्छ। हामीले ढुंगा उहाँहरूसँगै १८ सय प्रति ट्याक्टरमा किनेका हौं।’ नदीजन्य पदार्थ चोरी निकासीबारे अन्य कुरा थाहा नपाएको तर वडाध्यक्ष जानकार रहेको बताए।
वडाध्यक्ष सुवेदीका मतमा स्थानीयबासीले फरक मत राख्दै गएपछि भने उनले स्वीकारे, ‘दादाहरु आउँछन्। अनि मलाई हर्न बजाएर च्यालेन्ज गर्छन्। तपाईंहरू यहाँ भएको भएपनि यही हुन्थ्यो।’ पछि उनले थाहा हुँदाहुँदै पनि सुधार गर्न नसकिएको र समयमै गाउँपालिका प्रमुखलाई खबर नगरेको स्वीकारे।
ठेक्का एकातिर, धन्दा अर्काेतिर
एउटै खोला २ जिल्लाको सीमाना भएर बगेको छ। ती सीमानाका किनारमा विभिन्न ठाउँमा खोलाको बालुवा, ढुंगा निकाल्न मिल्ने गरी घाट बनेका छन्। जसमा लमजुङ जिल्लाले पहिल्यै घाट खुल्ला गरिसकेको थियो।
रुपा गाउँपालिकाले पटकपटक कुनाको मुख घाट खोल्न टेन्डर आह्वान नगरेको भने होइन। तर कसैको टेन्डर परेन। टेन्डर नपरेपछि अहिलेसम्म सो घाट खुलेको छैन। टेन्डर नै नपरेको घाटबाट स्थानीय जनप्रतिनिधिले नै धमाधम नदीजन्य पदार्थ अवैध रुपमा कारोबार गरिरहेको पाइएको हो। 'जसका लागि उनीहरु ठेक्का लागिसकेकाे लमजुङ घाटकाे कागजपत्र देखाउँछन् र टेन्डर नै नपरेको घाटबाट गिट्टी बालुका निकासी गर्छन्', स्राेतले भन्याे।
तस्करीलाई के फाइदा भएको छ भने कुनाको मुखघाट जाने बाटोबाट पोखरा आउन छोटो बाटो पर्छ। केही महिनाअघि मात्रै वडा कार्यालयले ४० हजार रुपैयाँ लगानीमा सो बाटोमा ग्राबेल बिछ्याइदिएको थियो।
‘बाटो ग्राबेल भएर यहाँका किसानलाई धेरै फाइदा भा’छ,’ वडाध्यक्ष दयासागर भन्छन्। बाटोमा ग्राबेल बिछ्याइएपनि ट्याक्टर धेरै गुडेकाले बालुवा नहालेजस्तै भएको स्थानीयबासीको गुनासो छ। घाटबाट त्यही बाटो हुँदै दिनँहु ट्याक्टर गुड्ने गरेको उनीहरूले खुलाए।
खोला तरेर लमजुङ जानआउन अप्ठ्यारो रहेको र त्यही कुनाको मुख घाटबाट नै बालुवा र ढुंगा निकालेर चोरी निकासी गरिरहेको स्थानीयले जानकारी दिए। ‘बाहिर जाँदा मध्यनेपाल नगरपालिकाको चिट काट्दा रहेछन्। त्यही चिट देखाएर यहाँको बालुवा चोरीनिकासी भइरहेको छ,’ स्रोतले भन्यो।
लमजुङभन्दा रुपाको टेन्डर ढिलो खुलेकाले पनि समस्या परेको वडा सदस्य मोती श्रेष्ठ बताउँछन्। ‘पहिल्यै खुलेको भए सजिलो हुने थियो। लमजुङमा टेन्डर खुलेपछि यहाँको त महंगो भयो,’ उनले भने। आफू पनि लमजुङकै चिटले कारोबार गरिरहेको बताउँछन् उनी। उनीहरूले लमजुङ घाटको चिट ५ सय रुपैयाँमा बालुवा र ढुंगा रोयल्टी तिरेको चिट देखाएर १८ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म बालुवा र ढुंगा कारोबार गरिरहेको फेला परेको हो।
जो भएपनि हामी कारबाही गर्छौं : गाउँपालिका अध्यक्ष ओझा
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आफूलाई वडा ७ का जनप्रतिनिधिले ढिलो जानकारी दिएको बताए। ‘वडाध्यक्षले बेलाबेलामा बालुवा निकासी भा’छ भन्नुहुन्थ्यो तर यसरी ठुलै मात्रामा भएको थाहा थिएन,’ उनले भने, ‘५ पटकसम्म पनि कुनै टेन्डर नपरेपछि अनुगमनमा आउनु परेको हो।’
ओझाले आफ्नै वडामा ठूलोमात्रामा अवैध नदीजन्य तस्करी भइराख्दा पनि जानकारी नदिइनु नियोजित भएको आरोप लगाए। ‘पहिल्यै यसबारे जानकारी दिएको भए हुने थियो,’ ओझाले भने, ‘अब जो कोही भएपनि कारबाही हुन्छ।’
उनले नदीजन्य पदार्थको तस्करी गरिरहेका समूहको कागजपत्र जफत गरिएको र उनीहरुको कारबाहीबारे शुक्रबार बस्ने गाउँपालिका बैठकले निर्णय गर्ने जानकारी दिए।
‘पहिले २ लाखमा सबै घाट टेन्डरमा जान्थे। तर अहिले २८ लाख रुपैयाँमा पनि टेन्डर गयो। यो घाट (कुनाको मुख)को पनि टेन्डर परेको भए ३३ लाख रुपैयाँ गाउँपालिकालाई आम्दानी हुन्थ्यो,’ प्रमुख ओझाले भने, ‘सस्तोमा टेन्डर आह्वान गरेर नजिरमात्रै बसाल्न खोजेका हौं। यसले गाउँपालिकाको आयस्रोत बढाउँछ।’
अवैध रूपमा थुपारिएका नदीजन्य पदार्थमा सिलबन्दी
गाउँपालिका प्रतिनिधि, जिल्ला विकास समिति प्रतिनिध र प्राविधिकसहितको टोलीले अवैध रूपमा तस्करी हुन लागेको करोडौं मूल्य बराबरको बालुवा सिल गरेको छ। रुपा गाउँपालिका-७ अन्तर्गत पर्ने कुनाको मुख, मादबेंशी, खोकटे र दवाचौर, कोइलानी क्षेत्रका अवैध रुपमा बेच्न तयारी अवस्थामा राखिएका बालुवा र ढुंगा सिल गरिएको वडाध्यक्ष ओझाले जनाए।
‘अहिलेलाई अवैध रूपमा थुपारिएका नदीजन्य पदार्थ सिल गरेका छौं। ५/६ दिन निकासी हुने नाका पूरै बन्द हुन्छ। यदि त्यसो गरिएको पाइएमा कडा कारबाही गर्छौं,’ उनले भने। मुचुल्का उठाइएका नदीजन्य पदार्थको कडा निगरानी राख्न उनले सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए।
कुनाको मुख घाटबाट ५ थुप्रा बालुवा, ६ थुप्रा ढुंगा सिल गरिएको छ। ‘अनुमानित २ सय ५१ घनमिटर बालुवा र १ सय ४५ घनमिटर ढुंगा यहाँबाट सिल गरेका छौं,’ इन्जिजियर वीरेन्द्र खनालले भने। उनले मादबेंशी क्षेत्रबाट ६३ घनमिटर बालुवा र ३ घनमिटर ढुंगा सिल गरिएको जानकारी दिए।
‘कोइलानी क्षेत्रका २ थुप्रो बालुवा र २ थुप्रो ढुंगा पनि सिल गरेका छौं,’ प्राविधिक वीरेन्द्रले भने, ‘त्यहाँबाट ७२ घनमिटर बालुवा र १२ घनमिटर ढुंगा बरामद भएको छ।’ उनले सिल गरिएका ठाउँबाट नाप बमोजिम नदीजन्य पदार्थ नपाइए सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताए।
आफ्नै गाउँपालिकाले अवैध नदीजन्य पदार्थ सिल गर्दासम्म वडाध्यक्ष दयासागर र वडासदस्य मोती श्रेष्ठ सुवेदी लमजुङबाटै बालुवा ल्याइएको स्पष्टीकरण दिइरहेका थिए। भनिरहेका थिए, ‘हामीले उतैबाट ल्याएर बेचेका हौं। धन्दा होइन व्यापार गरेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।