काठमाडौं- खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागेपनि सरकार आफैंले बाँकी काम गर्न सक्ने बताएकी छन्।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बिहिबार मन्त्री मगरले सिएमसीको ठेकेदार काम छाडेर भागेपनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गरिन्।
निर्माण सम्पन्न नगरेको अवस्थामा निर्माण कम्पनी विरुद्ध सिंगापुरको उच्च अदालतमा लड्न सक्ने अधिकार सरकारसँग सुरक्षित रहेको पनि उनले बताएकी थिइन्।
सरकारले भुक्तानी दिने सम्बन्धमा भने निर्माण सम्पन्न तथा रोकिएको काम सुचारु गर्ने सम्बन्धमा केही सर्त राखेको उनले बताइन्।
ठेकेदार कम्पनीले १ अर्ब ६५ करोडको दाबी गरेपनि सरकारले अब ३४ करोड मात्रै भुक्तानी गर्न बाँकी रहेको भन्दै उनले काम छोडेर भागेपनि नेपाललाई घाटा नपर्ने दाबी गर्नुभयो।
मन्त्री मगरले आयोजनाको बाँकी कामहरू ठेकेदार कम्पनी स्वयम्ले नभई सहयोगी कम्पनी मार्फत भइरहेको र ती कम्पनी सरकारसँगको सिधा सम्पर्कमा रहेकाले बाँकी काम तीनै सहयोगी कम्पनी मार्फत गर्न सकिने दाबी पनि गरेकी थिइन्।
काठमाडौंबासीले मेलम्चीको पानी पर्खिरहेका बेला निर्माणको ठेक्का लिएको कम्पनी नै काम छोडेर भागेको खबर आएपछि समितिले त्यसबारे चासो राख्दै सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।