काठमाडौं– स्वच्छ वातावरणका लागि ‘मास्क मुभमेन्ट’ चलाएको नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौं महानगरपालिकामा ज्ञापनपत्र बुुझाएको छ। ‘मास्क मुभमेन्ट’ का अभियन्ताले महानगर उपप्रमुख हरिप्रभा खड्गीलाई ज्ञापनपत्र बुझाएका हुन्।
स्वच्छ वातावरणका लागि हरित सहरको परिकल्पना अभियानले गरेको छ। अभियानमा सहभागी रहेका विद्यार्थी नेता तथा अभियन्ता मनिष सिम्खडा भन्छन्, ‘हामीले यो अभियान निक्कै लामो समयदेखि चलाएका थियौं। अहिले महानगरको ध्यानाकर्षण गराउनका लागि ज्ञापनपत्र बुझाएका हौं।’
यो अभियान लामो समयदेखि नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा चलेको थियो। काठमाडौंका प्रायः सबै क्याम्पस र कलेजमा अभियान चलाइसकिएको थियो।
‘वातावरणीय प्रदूषणका कारण काठमाडौंमा बाँच्न नै कठिन भइसकेको छ। यसमा महानगरपालिकाले ध्यान दिएको पाइएन, दबाबका लागि कार्यक्रम गरेका हौं’, त्रिपाठी भन्छन्, ‘स्थानीय सरकारको दायित्वमा पर्ने काममा किन ढिलाइ गरिएको हो? स्वच्छ काठमाडौंको नाराले मात्र पुग्दैन ।’
र्यालीमा काठमाडौंका विभिन्न क्याम्पस, कलेजलगायत शैक्षिक संस्थामा रहेका विद्यार्थीको उपस्थिति थियो। उनीहरू वातावरण प्रदुषण नियन्त्रणका उपाय सम्बन्धी तुल र प्लेकार्डसहित महानगरपालिका पुगेका थिए। उक्त अभियानमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसहितको अगुवाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।