काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ को फागुन ७ मा १४औं महाधिवेशनको मिति प्रस्ताव गरेका छन्।
बुधबारको महासमितिको बैठकमा सभापतिलाई सम्बोधन गर्दै पौडेलले कार्यतालिका पेस गरेका हुन्। उज्यालो भविष्यका लागि समयबद्ध काम गर्न माग गर्दै पौडेलले २०७६ फागुन ७ मा १४औं महाधिवेशनको उद्घाटन हुने गरी कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन्।
नेता पौडेलले प्रस्ताव गरेको कार्यतालिकाः
–२०७५ पुष १६ देखि २०७६ आषाढ मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउने।
–२०७६ आश्विन मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नविकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने।
–२०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा/गाउँपालिका, नगर/उपमहानगर/महानगरपालिका अधिवेसन सम्पन्न गर्ने।
–२०७६ पौष मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र/प्रतिनिधिसभा निर्वाचन क्षेत्र/जिल्ला अधिवेशन सम्पन्न गर्ने।
–२०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने।
–२०७६ फागुन ७ केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने।
–२०७६ चैत्रबाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिहरुको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने।
–२०७७ चैत्र मसान्तसम्म जनसरोकारका कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गर्ने।
–२०७८ बैसाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने।
नेपाली कांग्रेस यतिखेर इतिहासकै कठिन मोडमा रहेको जनाउँदै पौडेलले महासमितिको बैठकपश्चात् पार्टी संगठनलाई सृदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका छन्। अभियानमा कम्युनिष्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रस्तावमा ‘कम्युनिष्टहरुले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सहि र श्रेष्ठ हो?’ भन्ने विषयमा सर्वत्र बहस चलाउन सुझाव दिइएको छ। सबै भातृसंस्था र जनसम्पर्क समितिहरुको समयमै अधिवेसन सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ। समयवद्ध काम गर्ने बानी बसाल्ने, पार्टीका सबै तहका नियमित बैठकहरु गर्ने, बैठकका एजेण्डाहरु समयसापेक्ष बनाउन पनि आग्रह गरिएको छ।
कांग्रेस नेता तथा कार्यकर्ताको आचरण लोकतान्त्रिक संस्कार र संस्कृति अनुसारको हुनपर्ने मत प्रस्तावमा राखिएको छ। मधेश र कांग्रेसको घनिष्टता बढाउन मधेश केन्द्रित अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। ‘मधेसको भूमि र पहाडको पानी’को शक्तिमा साझेदारी कायम गर्न सुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।