काठमाडौं– इन्धन शुल्कवापत मन्त्रीहरुले दोहोरो सेवा लिएको विषय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकमा उठेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाबाहेक सबै मन्त्रीहरुले इन्धनमा दोहोरो रकम दिएको समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको बचाउ गरेका छन्।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले यसबारे एकाबिहानै पत्रिकामा समाचार पढेर मात्र थाहा पाएको बताए। स्थायी समितिको बैठकमा आज बोलेका पुन र उद्योगमन्त्री मातृका यादवले समाचार पुर्वाग्रही ढंगबाट आएको भन्दै मन्त्रीहरुको बचाउ गरेका हुन्।
मन्त्री पुनले आफू मन्त्री भएदेखि नै आफ्नो तलब, भत्ता आदि सबै काम गर्ने गरी अख्तियारी दिने चलनअनुसार तलबको सबै हिसाब–किताब स्वकीय सचिवले गर्दै आएको बताए।
‘सांसदहरुको बैंक खातामा सबै हिसाब आउँछ। मन्त्रीहरुले त आफ्नो तलब आफैंले पनि नपाउने रहेछन्’, मन्त्री पुनले भने, ‘आज पत्रिका हेर्दा कसको कति तलबभत्ता आदि मैले आफैं पनि हेर्न पाएँ।’ मन्त्री पुनले इन्धनवापतको छुट्टै रकम नलिएको दाबी गरे। ‘मलाई पनि इन्धन लिएको भनिएको रहेछ। मैले मन्त्रालयबाट कुनै इन्धन खर्च लिइएको छैन’, उनले भने, ‘अझ पछिल्लो समय मैले इलेक्ट्रिक भेइकल नै प्रयोग गरिरहेको छु। त्यो पनि त्यहाँ उल्लेख गरिएको रहेछ।’
मन्त्री पुनले राजधानी बाहिर हवाई मार्गबाट जाँदा सरकारले नै टिकट दिने व्यवस्था रहेको जानकारी दिए। संयोगवस अरु मन्त्रीहरुसँग कुरा गर्दा कसैले पनि रकम नलिएको मन्त्री पुनको तर्क छ। बाँकी मन्त्रीहरुले पनि पूर्वाग्रहीपूर्ण ढङ्गले नियोजित रुपमा समाचार लेखिएको आरोप लगाएका छन्। आलोचना, समाचार सकारात्मक खालको आयो भने सच्चिने मौका पाउने तर आग्रहपूर्ण रुपले आउँदा मिडियामाथिको विश्वास घट्ने उनले तर्क गरे।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले दोहोरो इन्धनको रकम आफूले नलिएको दाबी गरे। मन्त्री यादवले मन्त्रालयमा गएर मन्त्रीले कति इन्धन लिए भनेर ‘चेक’ गर्न पनि चुनौती दिए।
‘मलाई यस विषयमा थाहै छैन। मैले पैसा–सैसा पनि बुझेको छैन्। हाम्रो स्वकीय सचिवले बुझ्छन्। कति हो त्यो पनि थाहा छैन’, मन्त्री यादवले भने, ‘म पैसा गन्न जाने होइन। उहाँहरुले बाड्ने हो। मलाई जति दिनुहुन्छ त्यति लिन्छु। सुविधा खोज्दै हिड्ने मान्छे म होइन।’
नेकपाको स्थायी समितिबाट १० जना मन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।