भद्रपुर– मेचीनगर, झापाका नेकपा नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु भएको छ।
तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९ बजेदेखि सम्पर्कविहीन भएका उनकी पत्नी गीता भण्डारीले बताइन्।
‘हिजो (बुधबार) बिहान साढे ९ बजेतिर कलेज जान्छु भनेर घरबाट बाहिर निस्कनुभएको थियो, त्यसपछि उहाँसँग सम्पर्क हुनसकेको छैन’, उनले भनिन्।
नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले उनी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए।
बुधबार बिहान ८ बजेतिर आफ्नै लगानी रहेको हिमालयन मल्टिपल कलेजमा आएर नेता भण्डारी फर्किएका कलेजका सञ्चालक भाष्कर निरौलाले बताए। प्रहरी नायब उपरीक्षक श्रेष्ठले नेता भण्डारीको मोबाइलको कल डिटेल लिने र उनसँग आर्थिक कारोबार भएकाहरुसँग बुझ्ने कार्य भइरहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।