वासिङ्टन- अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले पूर्व प्रेमीकालाई लेखेको प्रेमपत्र इमोरी विश्वविद्यालयले सार्वजनिक गर्ने भएको छ।
युवा अवस्थाका ओबामाबारे अमेरिकामा सर्वाधिक चासो बढेपछि इमोरी विश्वविद्यालयले उनले पूर्व प्रेमिका अलेक्जेन्ड्रालाई लेखेका ९ वटा प्रेमपत्र सार्वजनिक गर्न लागेको हो।
आगामी साता प्रेमपत्र सार्वजनिक गरिने बताइएको छ। ओबामाको प्रेमपत्रको पाण्डुलिपि पुस्तकालयमा राखिने विश्वविद्यालयले जनाएको छ।
रोज लाइब्रेरीकी निर्देशक इमोरी स्ट्रटका अनुसार ओबामाका प्रेमपत्र गीत जस्तो लाग्छन्। ओबामाले ती पत्र सन् १९८२ देखि १९८४ बीच लेखेका थिए। प्रेमिल सम्बन्ध साथीका रुपमा परिणत हुँदासम्म उनले अलेक्जेन्ड्रालाई पत्र लेख्न छाडेका थिएनन्।

उनले एक प्रेमपत्रमा लेखेका छन्- 'तिमीलाई देखेको दुई हप्तासम्म म पूर्ण जासुस बनेँ।' गल्ली गल्लीमा तिमीलाई पछ्याउँथे, कक्षाबाट भाग्थेँ। तिमीलाई हेर्न पाएको दिन मेरा सबै तनाव हराउँथे।'
अर्को पत्रमा ओबामा कोर्छन्- 'मेरो चासो तिमीप्रति हावाभन्दा पनि फराकिलो छ, तिमीप्रतिको मेरो आत्मविश्वास सागरभन्दा पनि गहिरो छ। मेरो माया सम्हाल्न सक्ने सामर्थ्य तिमीसँग छैन।'

ओबामाको पत्रले निकै भावुक बनाउने गरेको उनकी प्रेमिका अलेक्जेन्ड्रा बताउँछिन्। 'उनको पत्रले हामी जति दुर भए पनि सामिप्यता महसुस गराउँथ्यो। ओबामाको पत्र दार्शनिक हुन्थ्यो,' उनी स्मरण गर्छिन्।
ओबामाका प्रेमपत्र सार्वजनिक हुन लागेकोमा अलेक्जेन्ड्रा खुसी छिन्। विश्वविद्यालयका विद्यार्थीले त्यो जमानाको माया साट्ने माध्यम र अहिलेको तरिकाबारे तुलना गर्न पाउने भएकाले यी प्रेमपत्र निकै महत्वपूर्ण हुने उनको भनाइ छ।सिएनएन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।