वासिङ्टन- अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले युरोपेली देशहरूसँग भएको इरानको व्यापारिक सम्झौतामा अमेरिकाले अवरोध नगर्ने बताएका छन्।
अमेरिकाको ‘द वाल स्ट्रिट जर्नल’सँगको अन्तवार्तामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता अनुमोदन नगरी सिनेटलाई जिम्मा दिएको एक सातापछि टिलरसनले यस्तो भनाइ आएको हो।
टिलरसनले अमेरिकाका सहयोगी युरोपेली देशको व्यापारिक हितमा अमेरिकाले धक्का पुर्याउन नचाहेको बताए।
उनले भने, ‘राष्ट्रपति ट्रम्प आफ्ना युरोपेली सहयोगीले इरानसँगको व्यापारिक सम्झौतामा हस्तक्षेप नगर्नेमा प्रस्ट हुनुहुन्छ। युरोपेलीहरूले इरानसँग व्यापारिक सम्झौता अघि बढाउन सक्नेछन्।’
टिलरसनले ट्रम्पको भनाइ उद्धृत गर्दै स्पष्टतापूर्वक युरोपेली देशहरूले इरानसँगको सम्झौता अघि बढाउन सक्ने बताए।
अमेरिकी कंग्रेसले इरानमाथि कडा प्रतिबन्ध लगाए पनि युरोपले उसको चासो बेवास्ता गर्दा गत सातासम्म अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा इरानसँग अमेरिकासहित विश्व शक्तिराष्ट्रले गरेको महत्वपूर्ण आणविक सम्झौता ‘पूर्णतया रद्द’ गर्ने चेतावनी दिएका थिए।
युरोपेली कूटनीतिज्ञहरू भन्छन्, ‘युरोपेली शक्तिराष्ट्रले अमेरिकी चासोका केही विषय प्रस्ट पार्छन्। तर यसबारे विभिन्न मञ्च तथा वार्तामा छलफल गरिनुपर्छ। इरानसँग भएको आणविक सम्झौताबाट पछि हट्नु भने गलत हुनेछ।’
सन् २०१६ जनवरीदेखि इरानसँग भएको आणविक सम्झौता कार्यान्वयन भएसँगै युरोपको व्यापारमा व्यापक सुधार देखिएको थियो।
इरानसँग इयूको व्यापार सन् २०१६ मा करिब १६ अर्ब अमेरिकी डलर बराबर पुगेको थियो। युरोपका ठूला बैंकले अमेरिकाद्वारा ठूलो जरिवाना गर्ने वा अमेरिकामा आफूमाथि प्रतिबन्ध लाग्ने डरले इरानमा लगानी गर्न अस्विकार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।