काठमाडौं- सेयर बजारका केही लगानीकर्ताले सेयर ब्रोकर (दलाल) कम्पनीलाई कारोबार नगर्न धम्क्याएको स्टक ब्रोकर एसोसिएसनले जनाएको छ।
ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले सोमबार कारोबार भइरहेको बेला ब्रोकर कम्पनीमा लगानीकर्ताले हुलमुल गरेर कारोबार सञ्चालन गर्न नदिएको बताए। ‘सोमबार लगानीकर्ताले पुतलीसडक आसपासका ब्रोकर कम्पनीमा गएर कारोबार नगर्न धम्की दिएका थिए। साथै उनीहरुले कार्यालयमा रहेको कम्प्युटर र मोबाइल पनि तोडफोड गरे,' उनले भने। मंगलबार सेयर कारोबार गरे भौतिक कारबाही गर्नेसम्मको चेतावनी उनीहरुले दिएको रानाभाटले बताए।
एसोसिएसनले विज्ञप्ति जारी गर्दै लगानीकर्ताको लागि सेयर कारोबार गरिरहेको अवस्थामा केही व्यक्तिहरुको समूहले ब्रोकर कार्यालयमा आई हुलहुज्जत गरेको प्रति आपत्ति जनाएको छ। साथै ब्रोकरका कर्मचारी र कार्यालयको भौतिक सम्पत्तिमाथि क्षति गर्ने, धम्क्याउने र हातपातसमेत गर्ने कार्य गरेको भन्दै संघले आपत्ति जनाएको छ।
संघले विज्ञप्तिमार्फत यस्ता समूहबाट व्यवसायीमाथि सांघातिक आक्रमण भई भौतिक तथा मानवीय क्षति हुन सक्ने भएकाले सुचारु रुपले कारोबार सम्पन्न गर्नका लागि व्वयसायीहरुको मुख्य कार्यालय र शाखा कार्यालयमा शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिन नेपाल सरकार समक्षसमेत अनुरोध गरिएको छ।
यसैबीच पुँजीबजार सुधारको माग राख्दै आएका सेयर लगानीकर्ता दबाब समूहले सोमबारदेखि आमरण अनसन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।