पोखरा– स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले पोखरा महानगरपालिकामा १० बुँदे माग राख्दै सोमबार कामकाज बन्द गरेर धर्ना सुरु गरेका छन्।
नेपाल सरकारले कर्मचारी समायोजन अध्यादेशमार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनमा समानता नभएको भन्दै उनीहरुले १० दिने आन्दोलनको घोषणा गरेका हुन्।
आइतबार महानगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतसमक्ष माग पत्र बुँझाउदै पुस ११ गतेसम्मका लागि आन्दोलनको घोषणा गरेका हुन्। आन्दोलन महानगरका कार्यरत ३ थरी कर्मचारी संगठनले संयुक्त रुपमा गरेका छन्।
आन्दोलनरत कर्मचारीले श्रेणीविहीन कर्मचारीको २ ग्रेड थप, सहायकस्तरमा सबै तहमा ५ वर्षभन्दा कम अवधि सेवा गरेका कर्मचारीलाई २ ग्रेड थप र ५ वर्ष सेवा पु¥याएका कर्मचारीलाई १ तह वृद्धि गर्नुपर्ने माग राखेका छन्।
यस्तै ५ वर्ष पूरा सहायकस्तर पाँचौ तहमा कार्यरत कर्मचारीलाई अधिकृत छैटौं तह, ५ वर्ष पूरा नभएका अधिकृतस्तर छैटौं कर्मचारीलाई २ ग्रेड थपलगायत ५ वर्ष सेवा गरेका र नगरेका कर्मचारीबीच उनीहरुले सेवा गरेको समयका आधारमा तह थप, लामो समयसम्म अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको स्थायित्वको ग्यारेन्टीसहित १० बुँदे माग राखेका छन्।
स्थानीय तह कर्मचारी संघका अध्यक्ष शिवप्रसाद बरालले सम्पूर्ण कर्मचारीलाई राज्यको समतामूलक व्यवहारका लागि विभिन्न माग राखेर आन्दोलनमा उत्रिनु परेको बताए। उनले भने, ‘सबै कर्मचारीलाई समान व्यवहार गर्न सांकेतिक विरोध सुरु गरेका हौं। यो ११ गतेसम्म चल्ने छ।’ उनले ११ गतेपछि समन्य समितिको निर्देशन बमोजि थप आन्दोलनका कार्यक्रम यत गर्ने जानकारी दिए।
धर्नामा संघसहित, नेपाल राष्ट्रिय कर्मचारी संगठन, स्थानीय तह कर्मचारी युनियनले कामकाज थप्प पारेर संयुक्त आन्दोलन सुरु गरेका हुन्। सोमबार कार्यालय परिसरमै धर्ना बसेपछि पुस १० गतेसम्म कालोपट्टी बाँधेर कामकाज ठप्प पार्ने कार्यक्रम अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।