जनकपुर– जनकपुरस्थित रत्नसागर मठका महन्त बैकुण्ठ दास बैष्णव धरौटीमा रिहा भएका छन्।
सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त बैष्णवलाई आज जिल्ला अदालत धनुषाले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।
उनीसँगै सरकारी कागज कीर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ। शर्मालाई जलेश्वर कारागार पठाइएको छ।
न्यायाधीश राजेश कटवालको इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै बैकुण्ठका सहयोगीहरूले अदालतमा धरौटी वापतको रकम पुर्याएका थिए। थुनामुक्त हुँदा बैकुण्ठले अदालती आदेशलाई सत्यको जितको संज्ञा दिए।
जनक हजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज कीर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोगमा १९ मंसीरमा काठमाडौं बागबजारबाट महन्त बैकुण्ठ पक्राउ परेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाले उनी विरुद्ध रु२ करोड बिगो र ३ वर्ष कैद माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।