एजेन्सी - स्पेनले क्याटालोनियाको स्वायत्तता स्थगन गरी केन्द्रीय शासन सुरु गर्ने भएको छ । स्पेन सरकारले छुट्टिएर बेग्लै राज्य बन्ने प्रयास त्याग्न गरेको आग्रह क्याटालोनिया प्रान्तका राष्ट्रपति काल्र्स पुजिमोन्टले अस्किार गरेपछि त्यहाँ शनिबारदेखि केन्द्रीय शासन लगाउने भएको हो।
पुजिमोन्टले स्वतन्त्रतासम्बन्धमा सरकार वार्ता गर्न तयार नभए एकतर्फी रुपमा क्याटालोनिया छुट्टिएको घोषणा गर्ने चेतावनी दिएपछि स्पेन सरकारले केन्द्रीय शासन लागू गर्ने घोषणा गरेको हो।
स्पेन सरकारले बिहीबार बिहानस्पेनबाट छुट्टिने प्रयास त्याग्न गरेको आग्रह पुजिमोन्टले अस्किार गरेको र छुट्टिए नछुट्टिएको जानकारी नदिएको जनाएको थियो।
अब स्पेनले संविधानको धारा १५५ लागू गरी क्याटालोनियाको स्वायत्तता अन्त्य गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ । शनिबार बस्ने मन्त्रिमण्डलको बैठकबाट क्याटालोनियाको स्वायत्तता अन्त्यको प्रस्ताव सिनेटमा राख्ने जनाइएको छ।
सरकारका प्रवक्ता इनिगो मेन्डेज डे भिगोले राजधानी म्याड्रिडमा गरेको पत्रकार सम्मेलनमा क्याटालोनियाको स्वायत्तता अन्त्य गर्ने प्रक्रिया शनिबार सुरु हुनसक्ने बताए ।
यसैबीच, युरोपेली संघले स्पेन र क्याटालोनियाबीच जारी स्वतन्त्रता विवादमा मध्यस्थता गर्न अस्विकार गरेको छ । युरोपेली संघका अध्यक्ष डोनल्ड टस्कले विवादमा संघले कुनै पनि भूमिका निर्वाह नगर्ने प्रष्ट पारे । बेल्जियमको राजधानी ब्रसेल्समा भएको बैठकमा संघका नेताहरू स्पेनको पक्षमा देखिएका थिए।
क्याटालोनियाका राष्ट्रपति पुजिमोन्टले स्पेनबाट छुट्टिने विवादमा मध्यस्थता गर्न संघसँग आग्रह गरेका थिए । जर्मन चान्सलर एंगेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले पनि स्पेन सरकारको समर्थन गरेका छन्।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भने स्पेनको क्याटालोनिया मामिलाले पश्चिमी देशहरूको दोहोरो व्यवहार उदांगिएको बताएका छन् । उनले युरोपेली देशहरूमाथि विश्वका केही पृथक्तावादी अभियानबाहेक अरुलाई समर्थन नगरेको आरोप लगाए।
क्याटालोनियाका नेताहरूले भने स्पेनले त्यहाँ दमन गर्ने नीति लिए संसदले स्वतन्त्रताको औपचारिक घोषणा गर्ने चेतावनी दिएका छन् । त्यहाँ यसै महिनाको १ तारिखमा जनमत संग्रह भएको थियो । जनमत संग्रहलाई स्पेनको अदालतले अवैध ठहर गरेपछि स्पेन सरकारले रोक्न प्रयास गरेको थियो।
तर प्रान्तीय सरकारले जनमत संग्रहमा अत्यधिक मत स्वतन्त्रताका पक्षमा खसेको दाबी गर्दै स्पेनबाट छुट्टिने तयारी गरेको थियो । जनमत संग्रह रोक्न स्पेनी प्रहरीले गरेको दमनमा करिब हजार जना घाइते भएका थिए । स्पेनले केन्द्रीय शासन लगाउने भएपछि क्याटालोनियामा द्वन्द्व चर्कन सक्ने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।