काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली १५औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुने भएका छन्।
ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ आगामी शनिबार काठमाडौंको वसन्तपुरमा आयोजना हुने १५औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायले गरेको आग्रह प्रधानमन्त्री ओलीले स्विकार गरेका हुन्। ज्यापू संस्कृतिको झलक दिने बाजागाजा र पहिरनसहित सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका ज्यापू महागुठी नेपाल नेतृत्वका ज्यापू समूदायले ज्यापू संस्कृति अनुसार प्रधानमन्त्री ओलीलाई नेवारी पोशाकसहित समारोहमा सहभागी हुनका लागि निमन्त्रणा गरेका थिए।
ज्यापू संस्कृति नेपालको राष्ट्रिय संस्कृति भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको विशेष भूमिका हुने भएकाले सदाझैं यस वर्ष पनि ज्यापू दिवसमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको ज्यापू महागुठी नेपालका अध्यक्ष राजभाई जकर्मीले बताए। दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्।प्रधानमन्त्री ओलीले आफूहरुको नियन्त्रणा स्वीकार गरेकोमा पनि अध्यक्ष जकर्मीले आभार व्यक्त गरे।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मेहनेती र पौरखको रित र परम्परा नै ज्यापू संस्कृति हो। नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिँदै आएको छ।
विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो। हाल मुलुकभर ज्यापू समूदायका करीब ६ लाख नागरिक छन्। यसैबीच, ज्यापू संस्कृतिको संरक्षणका लागि वसन्तपुरमा ज्यापू संग्राहलय बनाउने योजना पनि अघि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।