काठमाडौँ- महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ।
वृत्तबाट सादा पोसाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा पाँच महिनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई पक्राउ गरेको हो।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले पाँच महिनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिए।
प्रहरीले पक्राउ गरेका सात जनासँग रु ७० हजार ५ सय नेपाली र भारु ५ हजार ५ सय, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २ सय ग्राम बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।