जनकपुर- महोतरीको बर्दिवासबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। आज बिहान यात्रुबाहक बसमा नियमित चेकजाँचको क्रममा लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
छुट्टाछुट्टै बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा सिरहा विष्णुपुर १ बस्ने १८ वर्षीय अमरकुमार शर्मा ठाकुर पक्राउ परेका हुन्। अर्का एक जना फरार भएका छन्।
बर्दिवास नगरपालिकाको वडा नम्बर ३ स्थित इलाका प्रहरी कार्यालय अगाडि यात्रु बस चेकजाँचको क्रममा बा३ख ७४६८ नम्बरको बसमा डाइलक्स डिसी नामक लागुऔषध ४७ बोत्तल भेटिएको हो। बस उदयपुरबाट काठमाडौं जाँदै थियो। तर उक्त लागुऔषध ल्याउने व्यक्ति भने प्रहरीलाई छक्याएर भागेको डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।
त्यसैगरी बा५ख १९६८ नम्बरको हाइसबाट १०० बोत्तल डाइलक्स डिसी भेटिएको छ। सँगै नाइट्राजेपाम २० पत्ता पनि बरामद भएको छ। यसमा ६३० ट्याबलेट छन्।
बर्दिवास विगत केही महिनादेखि लागुऔषध कारोबार गर्नेहरुका लागि ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।