नयाँदिल्ली - भारतको तेलंगाना राज्यमा पटका पड्काउँदा कम्तीमा ३० जना घाइते भएका छन् । पट्का पड्काउँदा उनीहरूको आँखामा चोट लागेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
लक्ष्मीपूजाको अवसरमा बिहीबार बेलुका पटका पड्काउँदा उनीहरूको आँखामा चोट लागेको तेलंगानाका स्वास्थ्यमन्त्रीले शुक्रबार जानकारी दिए । सबैजना घाइतेको उपचार त्यहाँको सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए ।
भारतमा दीपावलीका बेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरू पनि धेरै जन घाइते भएको अनुमान गरिएको छ । ‘गएरातिदेखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,’ त्यहाँका स्वास्थ्यमन्त्री सी लक्ष्मण रेड्डीले भने।
घाइतेमध्ये ६ जनाको शल्यक्रिया नै गर्नुपर्ने गरी सिकिस्त रहेको चिकित्सकले बताएका छन् ।
भारतमा अहिले मनाइरहेको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटका पड्काउने गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।