काठमाडौं- स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा आन्दोलन कार्यक्रम घोषणा गरेका छन्।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुआबद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियनलगायतका संघ-संगठनले समायोजन अध्यादेशले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
निजामती कर्मचारी र आफूहरूलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको कार्यक्रमअनुसार यही पुस १० गते काठमाडौंमा विरोध सभा आयोजना गर्ने र सोही सभामा थप सशक्त कार्यक्रम घोषणा गर्ने जानकारी श्रेष्ठले जानकारी दिए।
संघले साविकका स्थानीय निकायमा कार्यरत श्रणीबिहीन कर्मचारीको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न सरकारसँग माग गरेको छ।
अध्यक्ष श्रेष्ठले निजामती कर्मचारीलाई अघि सारेर आफूहरूलाई विभेद नगर्न सरकारलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो पनि गरे। सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीको आपत्ति छ।
राजविराजमा पनि आन्दोलन
उता सप्तरीका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन्। सप्तरीका कर्मचारीले चरणबद्ध आन्दोलन सुरु गरेका हुन्।
समतामूलक व्यवहारको माग गर्दै सुरु भएको आन्दोनलमा १८ ओटै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारी सहभागी छन्।
कर्मचारीको संयुक्त आन्दोलन परिचालन समिति गठन गरी आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाएका छन्।
सोमबारदेखि आन्दोलनका कार्यक्रम निरन्तर संचालन हुने आन्दोलन परिचालन समितिका सल्लाहकार तथा नेपाल नगरपालिका कर्मचारी ऐसोसिएसन इकाइ समिति राजविराजका अध्यक्ष उमेशप्रसाद यादवले बताए।
उनका अनुसार पुष २ गते स्थानीय तहका सबै कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना दिने, ३ गते २ घन्टा कालोपट्टी बाँधेर काम काज ठप्प पार्ने कार्यक्रम तय गरिएको अध्यक्ष यादवले बताए। ४ गते ६ घन्टा कालो पट्टी बाँधेर कामकाज ठप्प तथा ६, ७, ९ र १० गते दिनभर कामकाज ठप्प पार्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।