काठमाडौं– डा गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन नभएको र उनले अनसनको तयारी गरिरहेको भन्ने समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
पार्टी प्रवक्ता रमेश पौड्यालद्वारा जारी एक प्रेस विज्ञप्तिमा गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलको विवादास्पद भूमिकाको छानविन गर्न उनले राजीनामा दिनुपर्ने र नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरिएको छ।
'एकै विषयमा एउटा सत्याग्रहीले १५ पटकसम्म अनशन बस्नुपर्ने र हरेक पटक सरकारको तर्फबाट सम्झौता गर्दै र उक्त सम्झौता उलंघन गर्दै रहने यो परिघटना सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लज्जास्पद छ। आफूले हस्ताक्षर गरेको विषयबाट पटक, पटक पछाडि हट्नुले सरकारको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न चिन्ह लागेको छ', विज्ञप्तिमा भनिएको छ।
डा केसीले फेरि पनि अनसन बस्नुपर्ने अवस्था नै आउन नदिनेगरी उसले पाँच कदम सरकारलाई सुझाएको छ–
१) डा. गोविन्द केसीसँग भएको सम्झौता किन कार्यान्वयनमा जान सकेन भन्ने विषयमा प्रधानमन्त्रीले देशवासीलाई तत्काल जानकारी गराउनु पर्छ।
२) सम्झौता कार्यान्वयनका क्रममा सतहमा आएको नेपाल सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको विवादास्पद भूमिकाको स्वतन्त्र छानबिन गरिनुपर्छ।
३) छानबिनलाई सहज ढङ्गले अघि बढाउन शिक्षा मन्त्रीले पदबाट राजीनामा दिनुपर्छ।
४) शिक्षा मन्त्रीले अटेर गरि राजीनामा नदिए सम्झौताको स्वामित्व लिँदै प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्छ।
५) प्रधानमन्त्रीको अग्रसरतामा डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गरी श्रावण १० को सम्झौता पूर्णतः कार्यान्वयनको ग्यारेन्टी गरिनुपर्छ।
डा केसीको पन्ध्रौं अनसन अन्त्य गर्न गत साउन १० गते सरकार र डा केसीबीच ९ बुँदे सहमति भएको थियो। तर, सरकारले प्रतिवद्धता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।