जनकपुर– जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई राष्ट्रिय जनता पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो दलेका छन्।
आइतबार विद्यार्थीहरूले क्याम्पसको अवस्था नाजुक बनाएको र क्याम्पसमा शैक्षिक सुधारको वातावरण नबनाएको भन्दै कालोमोसो दलेका हुन्।
महिनौंदेखि चेतावनीको साथै आन्दोलन गर्दै आएका विद्यार्थीहरूले क्याम्पस प्रमुख विजयकुमार लाभलाई उनकै कार्यकक्षमा कालोमोसो दलिदिए।
साथै कार्यकक्षमा तालाबन्दी गर्दै उनलाई भित्रै थुनेका छन्। आइतबार दिउँसो क्याम्पस प्रमुख लाभसँग विद्यार्थीहरूले क्याम्पसको खस्किँदो शैक्षिक अवस्था सुधार गर्न आग्रह गरिरहेको बेलामा प्रमुख लाभले उल्टै धम्काउँदै 'पढ्ने भए पढ नत्र अर्को क्याम्पसमा टिसी लिएर जानु' भनेपछि उनलाई कालोमोसो दलिएको एक विद्यार्थीले बताए।
उक्त समूहले लाभलाई कालोमोसो दल्नुका साथै उनको कार्यकक्षमा तालाबन्दी गर्दै थुनेको संघका सदस्य कुलदीप साहले बताए।
क्याम्पसका सहायक प्रमुख रामनरेश ठाकुरले विद्यार्थीहरुले क्याम्पसमा पठन पाठनका सम्बन्धमा कुराकानी भइरहेकै समयमा क्याम्पस प्रमुखमाथि कालोमोसो गर्दै क्याम्पस प्रमुख, आफू र कर्मचारी संजीव कर्णलाई थुनेको बताए।
कुनै बेला नेपालकै लोकप्रिय भएकाे उक्त क्याम्पसमा शैक्षिक अवस्था कमजोर हुँदै गएकाले राजपा निकटका विद्यार्थी संघ आन्दोलित हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।