काठमाडाैं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै गर्ने बताएका छन्।
प्रतिनिधिसभा भवन मर्मतसम्हार भइरहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब ढिलाइ नहुने प्रष्ट्याएका हुन्।
आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी हिउँदे अधिवेशनमा सरकारले संविधानसँग बाझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।
आगामी फागुन २० गतेभित्र संविधानसँग बाझिएका सबै कानुन संशोधन गरी सक्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री ढकालले सो संवैधानिक प्रावधान अनुसार सबै कानुनलाई संविधान अनुकूल बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताए।
उनले साझा सूची र संक्रमणकालीन न्यायका लागि आवश्यक कानुन निर्माणको काम पनि संघीय संसदको आगामी हिउँदे अधिवेशनमा सम्पन्न गर्ने सरकारको योजना सार्वजनिक समेत गरे।
मन्त्री ढकालले हालै सम्पन्न अन्तरप्रदेश परिषद्को बैठकले साझा सूचीसँग सम्बन्धित कानुन निर्माणको कामलाई सहज बनाएको पनि स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।