काठमाडौं– व्यापार गर्ने मान्छेका पनि थरीथरीका सोख हुन्छन्। कसैले कपडाको गर्लान्, कसैले खाद्यान्न, फर्निचर, होटल वा यस्तै यस्तै।
तर राजधानीकै एक ठाउँमा घर नै भाडामा लिएर लागुऔषधको व्यापार हुने गरेको पाइएको छ। लुकिछिपी लागुऔषधको कारोबार भएका घटनाहरू बाहिर आइरहेका बेला राजधानीमा घर नै भाडामा लिएर लागुऔषधको व्यापार हुने गरेको पाइएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले लागुऔषधसहित तीन जनालाई शनिबार पक्राउ गरेपछि सो रहस्य बाहिर आएको हो।
काठमाडौंको रानीबारीमा विगत एक वर्षदेखि सिंगै घर नै भाडामा लिएर नेपालमा पाइनेदेखि नपाइनेसम्मका लागुऔषधको कारोबार हुँदै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
शनिबार प्रहरी परिसरमा एउटा सूचना आयो। ‘विगत एक वर्षदेखि रानीबारीमा घर नै भाडामा लिएर लागुऔषधको व्यापार भइरहेको छ।’
घर नै भाडामा लिएर लागुऔषधको व्यापार गरेको भन्ने सूचना सुरुमा प्रहरीलाई पत्यार लागेन। तैपनि केही हल्ला नभई पक्कै सूचना आएन भन्दै परिसरको टोलीले रानीबारीतर्फ मोडियो।
सूचनाकै आधारमा प्रहरीले तीन जनालाई पक्राउ गर्यो। भारतको महाराष्ट्र मुम्बईका २८ वर्षीय राजीव लुथेरा, काठमाडौं नरदेवीका २८ वर्षीय आशिषमान श्रेष्ठ र टोखा नगरपालिका गोंगबुका २६ वर्षीय सन्नी महर्जन पक्राउ परे। भारतीय नागरिक लुथेरा लागुऔषध कोरोबारका मुख्य नाइके भएको प्रहरीले जनाएको छ। लुथेराले नै विदेशबाट लागुऔषध मगाएर उनकै योजनामा बेचबिखन हुने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूले भाडामा लिएको घरबाट ४ दशमलव ७ ग्राम कोकिन, १ किलो चरेस, १ किलो ७ सय ग्राम एमडिएमी भनिने कोकिनजस्तै लागऔषध र लागुऔषध जोख्न प्रयोग गरिने एउटा तराजु समेत बरामद गरेको थियो।
त्यसपछि बल्ल प्रहरीले उनीहरूको कतुर्त थाहा पाएको थियो। विगत एक वर्षदेखि उनीहरु सिंगो घर नै भाडामा लिएर कोकिनलगायतका लागुऔषधको व्यापार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। विगत एक वर्षदेखि यसरी कारोबार हुने गरेकाले लागुऔषध पनि ठुलै परिणामको हुन सक्ने र अन्यत्र लुकाएर राखेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपालमा उत्पादन नहुने र अत्यन्तै महंगो मूल्य पर्ने कोकिन उनीहरूले क्यारेबियन देशहरूबाट नेपाल आयात गरी विगत एक वर्षदेखि कारोबार गर्ने गरेको देखिएको छ। उनीहरूले कोनिन नै बेच्नेभन्दा पनि त्यस घरलाई होटलजस्तै बनाएर लागुऔषध कोकिन खुवाउने र पैसा असुल्ने गरेको पाइएको छ।
कोकिन उच्च कोटिको लागुऔषध हो। कडा खालको ड्रग्सका रूपमा लागुऔषध प्रयोगकर्ताले कोकिनको प्रयोग गर्छन्। कोकिन नेपालमा उत्पादन हुँदैन। प्रायः ब्राजिल र पेरु हुँदै नेपालमा लागुऔषध भित्रिने गरेको छ। अन्य लागुऔषध भन्दा निकै महँगो बजार मूल्य भएको कोकिन नेपाली बजारमा प्रतिकेजी करिब ४५ लाखसम्ममा बिक्री हुने गरेको प्रहरी अधिकारी बताउँछन्।
मुलुकमा यसको अवैध बजारमूल्य डेढदेखि २ करोडसम्म रहेको छ। कोकिन अत्यधिक महंगो हुनाले नेपालमा खपत हुँदैन। एक–दुई व्यक्तिले प्रयोग गर्ने भएपनि नेपालमा यसका प्रयोगकर्ता धेरै छैनन्।
एक 'सट'को २५ हजार, ग्राहक नेपालीदेखि विदेशीसम्म
कोकिन प्रयोगकर्तालाई लागू औषधको अन्तिम रुपमा लिने गरिन्छ। कोकिन सबैभन्दा महंगो र बढी नशालु हुने गर्छ। अर्को 'एमडिएसपी' भनिने लागुऔषध पनि कोकिनको विकल्पको रुपमा लागुऔषध प्रयोगकर्ताले सेवन गर्ने गरेका छन्। यी दुबै लागुऔषध धनाढ्य व्यक्तिले मात्रै सेवन गर्ने गरेको प्रहरीले जनाएको छ।
होटलकै रूपमा सञ्चालन गरेर कारोबार गर्ने गरेका उनीहरूले एक 'सट' कोकिन तानेको २० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘उनीहरूका ग्राहकहरू भाडामा लिएको सोही घरमै जाने र सेवन गरेर फर्किने गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता बोगटीले भने, ‘एक सट तानेको २० देखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ।’
उनीहरूका ग्राहक भने विदेशी नागरिक हुने गरेको प्रहरीले जनाएको छ। ‘केही धनाढ्य नेपालीहरू पनि गए होलान् तर यिनीहरूको टार्गेट ग्राहक विदेशी नै हुन्’ बोगटीले भने।
घर नै भाडामा लिएर लागुऔषधको व्यापार हुने गरेकाले घरधनी पनि मिलेको हुनसक्ने भन्दै प्रहरीले तयसतर्फ पनि अनुसन्धान गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।