काठमाडाैं– कोलकत्तामा भेटिएको सुन गोरे समूहकै हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएकाे छ।
शुक्रबार भारतको राजस्व अनुसन्धान विभागका कर्मचारीले कोलकत्ताको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका थिए। उक्त ३३ किलो सुन कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भएको अवस्थामा बरामद भएको थियो।
कारबाट भारतीय अधिकारीले एक किलो दरका ३३ वटा सुनको बिस्कुट बरामद गरेका थिए। सुनसहित इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मापक्राउ परेका छन्।
दुई नेपालीसहित बरामद भएको ३३ किलो सुन नेपालबाट बाहिरिएको हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिएकाे हाे। गत वर्ष माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएसँगै साढे ३३ किलो सुन गायव भएको थियो। हराएको सुन वेपत्ता पारेको भन्दै तस्कर समूहले सुनभरिया मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्यासमेत गरेका थिए।
सुन तस्करी र सनम हत्याबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गत चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। तर, सुन अहिलेसम्म फेला पर्न सकेको छैन।
उक्त सुन चुडामणि उप्रेती (गोरे) समूहकै हुनसक्ने भन्दै समितिले पुन: अनुसन्धान सुरु गरेको छ। सुन नेपालबाटै बाहिरएको हुनसक्ने भन्दै कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासमा भारतीय पक्षले पत्राचार गरिसकेको अनुसन्धान समितिका संयोजक ईश्वराज पौडेलले बताए।
दुई नेपालीसमेत पक्राउ पर्नुले केही संकेतहरु निर्देश गरेको तर सुन नेपालबाटै बाहिरिएको हो होइन भन्नेबारे पुष्टि हुन बाँकी रहेको उनले बताए।
काेलकत्तामा भेटिएकाे सुन कारबाट निकाल्दै प्रहरी[भिडियाे]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।