काठमाडौं- ६ वर्षअघि छानबिन भएको नक्कली भ्याट बिल प्रकरणका चार आरोपीहरुको मुद्दाको अन्तिम सुनुवाइ सर्वोच्चमा सुरु भएको छ। न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासमा ती मुद्दाको पेसी रहेको छ।
नक्कली भ्याट बिलमा मुछिएका व्यापारीहरू फेरि कानुनी छिद्र खोज्दै न्यायिक निकायमा धाउँदै आएका छन्। ७ अर्बभन्दा बढीको भ्याट छलीमा परेका ती व्यापारीहरूले अदालत प्रभावित पार्न बिचौलिया समेत परिचालन समेत गरिरहेका छन्।
२०६९ सालमा ७ अर्ब बराबर भ्याट छलीमा परेका करीब ३ सय कम्पनीले नक्कली भ्याट बिल मार्फत राजस्व ठगेको खुलासा भएको थियो। त्यसपछि आरोपित व्यापारी र कम्पनीहरू सर्वोच्च अदालतको ढोकासम्म पुगेका थिए।
सर्वोच्च अदालतमा भाटभटेनी सुपर मार्केट, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्यास प्रालि र महेश बानियाँको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएसँगै नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अन्य व्यापारिक घरना पनि सल्बलाएका हुन्।
भाटभटेनी सुपर मार्केट, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन र महेश बानियाँको मुद्दा भने न्यायाधीद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ। यी चार कम्पनीले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइको पहिलो दिन व्यापारी पक्षका कानुन व्यवसायी नारायण नेपालले बहस गरेका थिए।
व्यापारी पक्षका कानुन व्यवसायीको संख्या धेरै भएकाले यो मुद्दा केही दिन लम्बिने सर्वोच्चले जानकारी दिएको छ। सोमबारको बहसपछि यो पेसी अर्को आइतबारलाई ‘हेर्दा हेर्दै’मा राखिएको छ। व्यापारी पक्षका कानुन व्यवसायीको बहसपछि मात्र सरकारी वकिलहरूले बहस गर्नेछन्।
‘व्यापारीहरूले यस बीचमा अनेक गरेर मुद्दा लम्ब्याउने चलखेल गरे, यस्तो अभ्यास अहिले पनि भइरहेको छ,’ नक्कली भ्याट बिल प्रकरणबारे जानकारहरू भन्छन्, ‘सर्वोच्चमा चार कम्पनीको बहस सुरु भएपछि अरु दागीहरू झस्केका छन्। र, उनीहरू इजलास सपिङमा लागेका छन्।’
दुबै पक्षको बहसपछि सर्वोच्चले जवाफ सुन्दै फैसला सुनाउने छ।
सर्वोच्चले राजस्व छलेको ठहर गरेमा उनीहरूले नक्कली भ्याट बिल जारी गरी छलेको रकम पुनः सरकारलाई बुझाउनु पर्ने हुन्छ। तर सर्वोच्चले सफाइ दिएमा मुद्दा लड्न राखेको धरौटी रकम समेत उनीहरूले फिर्ता पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।