जनकपुर– प्रदेश २ मा कुपोषणको अवस्था भयावह रहेको पोषणका लागि नागरिक समाज सञ्जाल नेपाल (सिसान) को एक तथ्यांकले देखाएको छ।
सिसानको तथ्यांकअनुसार देशको ७ वटै प्रदेश भन्दा प्रदेश २ को अवस्था भयाभह रहेको छ।
प्रदेश २ का बालबालिकामा ३७ प्रतिशतमा पुड्कोपन, १४.४ प्रतिशतमा ख्याउटेपन, ३६.८ प्रतिशत बालबालिकामा कमतौल, ५९.४ मा रक्तअल्पता रहेको छ।
जसमध्ये महिलामा ५७.८ प्रतिशत रहेको जनाइएको छ।
अन्य प्रदेशको तुलनामा सही पोषणको कमीले प्रदेश २ को पोषण स्थिति भयावह हुन पुगेको बहुक्षेत्रीय पोषण योजनाका प्रदेश २ संयोजक हेमन्त झाले बताए।
प्रदेश २ मा सबै कुरा सजिलै उपलब्ध गर्न सक्ने वातावरण रहेपनि जनचेतनाको अभावले बालबालिका कुपोषणको सिकार भएको उनले बताए।
नेपाल जनसांख्यकीय सर्वेक्षण २०१६ अनुसार ५ वर्ष मूनिका ३६ प्रतिशत बालबालिका दीर्घ कुपोषण तथा पुड्कोपनबाट प्रभावित भएका छन्।
१० प्रतिशतमा ख्याउटेपन र २७ प्रतिशत कम तौलको कारणले पीडित भइरहेका छन्। यस्तै, ६ महिनादेखि ५ वर्ष मूनिका ५३ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको पाइएको छ।
धनुषा जिल्लाका १८ वटा स्थानीय तहहरू मध्ये हा सम्ममा जनकपुरधाम उपमहानगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका, मिथिला बिहारी नगरपालिका र औरही गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना लागू समेत हुन नसकेको संयोजक झाले जनाए।
पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको हुँदा यसलाई न्युनिकरण गर्न नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजना अन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।