बाँके– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताएकी छन्।
भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तर्किया कार्यक्रममा उनले भनिन्, 'शक्तिशाली आयोग गठन गरी एक वर्षभित्रमा मुक्तकमैयाको समस्या समाधान गर्छौं।'
मन्त्री अर्यालले अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने र खण्डीकृत जग्गालाई एकीकृत गरी भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने बताइन्।
आगामी वर्षदेखि मुक्तकमैया पुनःस्थापनाको समस्या लिएर मन्त्रीसमक्ष आउनु पर्दैन भन्दै उनले मुक्त कमैयाको समस्यालाई पूर्णरुपमा समाधान गर्ने बताइन्।
मन्त्री अर्यालले मुक्तकमैयाको समस्या समाधान यसै वर्ष हुनुपर्छ, यसका लागि आवश्यक सबै संयन्त्र प्रयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिइन्।
अहिलेसम्म बर्दियामा १० हजार ७ सय ९७ घरपरिवार मुक्तकमैयाले परिचयपत्र पाएका छन्। तीमध्ये १० हजार ७१४ घरपरिवार मुक्तकमैया पुनःस्थापित भएका छन्।
पुनःस्थापित हुन नसकेका ८३ घरपरिवारमध्ये ७० घरपरिवार सम्पर्कमा नआएको र १३ घरपरिवार पुनःस्थापना हुने क्रममा रहेको भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।