कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७ सय ८१ जनाले सेवा लिएका छन्।
धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३ सय २६ पुरुष र ४ सय ५५ महिलाले सेवा लिएका छन्।
उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए।
मोतिया बिन्दु भएका सबै जनाको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए।
शिविरबाट आँखा कम देख्ने ३ सय ३० जनालाई निःशुल्करुपमा चस्मासमेत उपलब्ध गराइएको थियो।
शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतिया बिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताए।
आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनले बताए।
शिविरमा आँखा चेकजाँचका लागि पुगेका मधुमेय र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको छ।
शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ।
औषधि खरिद गर्न नगरपालिकाले रु ५५ हजारभन्दा बढी रकम उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।