पशुपतिनगर- झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फास्टट्र्याक’ राजदुवाली-बूढीसुखानी-शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ।
मेची राजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो।
झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ। झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने सडकलाई बहुवर्षे ठेक्कामार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताए। इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन गरेको छ।
ट्र्याक निर्माण भएको पाँच दशकपछि सडक कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नं २ ‘ख’का सांसद् धीरेन्द्र शर्मा ‘रमण’ ले बताए।
३७ किमी सडक निर्माणका रु एक अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ। लामो सडक र ठूलो बजेट खर्च हुने भएकाले सबै नेपाली निर्माण व्यवसायीको क्षमता नभएकाले प्याकेज छुट्याएर निर्माणको काम अघि बढाउने पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख राजेश कर्णले बताए।
चार वटा प्याकजेमा ३७ किमीलाई छुट्टयाएर पहिलो चरणमा १० किमीको बहुवर्षे ठेक्का स्वीकृत गर्ने उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।