डोटी– जाडो मौसम सुरु भएसँगै डाेटीमा पशुमा लाग्ने खोरेत रोगको महामारी फैलिन थालेकाे छ।
दीपायल सिलगढी नगरपालिकाका केही वडासहित ग्रामीण क्षेत्रमा एक दुई हप्ता यतादेखि खोरेत रोगको महामारी फैलिन सुरु भएको स्थानीयवासी कैलाश विकले बताए।
उनले भने, 'गाई, गोरुमा एकाएक खोरेत रोग देखियो, जति औषधि गरे पनि निको हुँदैन हामी त चिन्तित छौँ।'
यो रोग जाडो मौसममा भने महामारीका रुपमा नै फैलिने गरेको पशुसेवा डिभिजन कार्यालयका पशु चिकित्सक महानन्द साउँदले बताए। उनले भने, 'यो सरुवा रोग हो, रोग लाग्नुभन्दा पहिले नै सजग भए राम्रो, यसकाे खासै उपचार हुँदैन।'
खास गरेर खुर भएका पशुको मुख र खुट्टामा खोरेतको संक्रमण देखिने गरेको छ भने संक्रमण फैलिँदै जाँदा खुरको छाला कुहिने र किरा पर्ने समस्या हुन्छ।
सुरुको अवस्थामा पशुको मुखबाट र्याल आउने तथा मुखभित्रको जिब्रोमा घाउसमेत हुने गरेको पशु चिकित्सक महानन्द साउँदले बताए।
यो रोग गाई, भैँसी, भेडा, बाख्रा र बङ्गुरमा लाग्ने गरेको छ। यो रोग लागेपछि सुरुमा पशुलाई जरो आउने, मुखबाट र्याल आउने, खुट्टामा घाउ भएर हिँड्न नसक्ने, खान छोड्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।