जनकपुर– धनुषामा जिल्ला प्रशासन कार्यालय कै एक कर्मचारीको सहयोगमा नक्कली नागरीकता बनाइ बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नम्बर–२० स्थित देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका –५ बस्ने ४९ वर्षीया गंगा साह, रौतहटको दुर्गा भगवती गाउँपालिका –४ बस्ने हेमन्त कुमार पाण्डे र जिल्ला प्रशासन कार्यालय धनुषामा सहयोगी पदमा कार्यरत्त ४२ वर्षीय महावीर मण्डल रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ०६३/६४ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकताको टोलीको छाप तथा प्रशासनको अभिलेखको सक्कली डायरीको केही कागजात, दर्जनौं नेपाली नागरिकता र डेढ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन मार्फत अभियुक्त सार्वजनिक गरेको हाे।
पक्राउ परेकामध्ये रोशनकुमार चौधरीको डेरामा सुराकीको आधारमा प्रहरीले छापा मार्दा उनको कोठाबाट विभिन्न व्यक्तिको दर्जनौँ नक्कली नेपाली नागरिकता, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराईंको प्रमाण सहितको विभिन्न ठेली, सादा नाम नभरेको नेपाली नागरिकता, नेपाली नागरिकतामा टाँस हुने होलोग्रामको लोगो, जिल्ला प्रशासन कार्यालयको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जिकाधिकारीको छाप, टोली प्रमुखको छाप, नगरपालिकाको छाप, वडाअध्यक्षको छाप, नागरिकता विवरणको ठेली, मोबाइल १ थान, १ लाख ५३ हजार रुपैयाँ नगद समेत बरामद गरिएकाे प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए।
अभियुक्तलाई २०६३ मुलुकी फौजदारी, ऐन अन्तर्गत कारबाही हुने तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।