जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साना तिनामाथि कारबाही गर्दैमा भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त हुन नसक्ने बताएका छन्।
जनकपुरमा आयोजित 'सम्पत्ति शुद्धिकरण निवारण विषयक अन्तरक्रिया' कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अनुसन्धान विभागले भ्रष्टाचार अन्तको लागि माथिबाटै सम्पत्ति शुद्धिकरण अभियान थाल्नु पर्ने बताए।
उनले मुलुकलाई लुटेर विदेशमा रकम थुपार्ने ठुलाबडालाई छोडेर सम्पत्ति शुद्धिकरण विभागले सानातिना माथि मात्र कारबाही मात्र गर्ने गरेको बताए।
मुख्यमन्त्री राउतले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न माथिबाटै झाडु लगाउनु पर्दछ, तलमात्र झाडु लगाएर हुँदैन।' उनले नारामा मात्र नभई सम्पत्ति शुद्धिकरणलाई व्यवहारमा ल्याउन विभागका पदाधिकारीलाई आग्रह गरे।
विभागका महानिर्देशक जीवन प्रसाद सिटौलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको सचिव हरि प्रसाद फुँयालसहित प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।