काठमाडौं- सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायधिकरणहरूले गत आर्थिक वर्षमा झन्डै ६६ प्रतिशत मुद्दाको अन्तिम किनारा लगाएका छन्।
गत आर्थिक वर्ष २०७४/७५ मा सर्वोच्च अदालत र मातहतका अदालत एवम् न्यायाधिकरणहरूले गरेको कार्यसम्पादन प्रतिवेदनमा ६५ दशमलव ७७ प्रतिशत मुद्दाको अन्तिम किनारा लगाइएको उल्लेख छ।
यस अवधिमा नयाँ दर्ता भएका र अघिल्लो वर्षका गरी जम्मा २ लाख ७६ हजार १ सय ४७ मध्ये १ लाख ८१ हजार ६ सय ११ वटा मुद्दा फर्स्योट भएका छन्। यो गत आर्थिक वर्षको तुलनामा ३ दशमलव ८९ प्रतिशत बढी हो।
बिहिबार अदालत परिसरमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले ३७ दशमलव ९६ प्रतिशत मुद्दाको अन्तिम किनारा लगाएको बताएको छ। 'सर्वोच्चमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता भएका गरी जम्मा ३२ हजार ७ सय १७ मुद्दामध्ये १२ हजार ४ सय १९ मुद्दा फछर्यौट भएका हुन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ दशमलव शून्य एक प्रतिशत हो,' सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने।
उच्च अदालतले ७१ दशमलव १० प्रतिशत, जिल्ला अदालतले ६७ दशमलव ७८ प्रतिशत र अन्य अदालत तथा न्यायाधिकरणहरूले ४९ दशमलव ६५ प्रतिशत मुद्दा फर्स्योट गरेका छन्। अघिल्लो आर्थिक वर्षका तुलनामा उच्च अदालतले ८ दशमलव २७ प्रतिशत र जिल्ला अदालतले १ दशमलव ५ प्रतिशतले बढी मुद्दा फर्स्योट गरेका हुन्।
'तुलनात्मक रुपमा यस आर्थिक वर्षमा मुद्दा फर्स्योटको प्रतिशत बढे पनि अपेक्षित रुपमा मुद्दा फर्स्योट हुन सकेका छैनन्। तर सर्वोच्च अदालतले भने लक्ष भन्दा बढी मुद्दा फर्स्योट भएको दाबी गरेको छ।
न्यायलयले गरेको फैसला कार्यान्वयमा भने कैदतर्फ गत आर्थिक वर्षका तुलनामा यस आर्थिक वर्षमा २ दशमलव ७३ प्रतिशतले कम कैद असुल भएको देखिएको छ। जरिवाना तर्फ पनि १० दशमलव ४६ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।