काठमाडाैं– नेपाल पत्रकार महासंघले पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल पत्रकार महासंघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कानुनी कारबाही माग माग गरेको हो।
सरकारी स्वामित्वमा रहेको गोरखा पत्र संस्थान र राष्ट्रिय समाचार समितिमा समेत पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएपछि त्यस्ता मिडिया हाउसमाथि कारबाही गर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।
महासंघले मन्त्री बाँस्कोटासँग स्वतन्त्र र स्वायत्त राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न पनि गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघको ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री बास्कोटाले पत्रकारहरुको पछिल्लो पटक वृद्धि गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराएका थिए।
महासंघले स्थानीय तहबाटै सञ्चार माध्यम दर्ता, नविकरण, सञ्चार माध्यमको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भूक्तानी दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।