काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चीनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा ब्यूरोका महानिर्देशक झाङ होङ्बोबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रित रहेको थियो।
गृहमन्त्री थापाले नेपाल र चीनको तिब्बतबीच परापूर्वकालदेखि नै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको बताए।
गृहमन्त्री थापाले तिब्बतसँगको नाकामा अध्यागमन कार्यालय विस्तार तथा स्तरोन्नतीका कामलाई नेपालले प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सीमा व्यवस्थापनका विषयमा तिब्बतसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताए।
भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरे।
भेटमा महानिर्देशक होङ्बोले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
हाङ्बोले नेपालका कानुन कार्यान्वयन गर्ने निकाय र तिब्बतका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।