काठमाडौं– संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको छ। बिहीबार बिहान बसेको परिषद्को बैठकले शमशेरलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
न्याय परिषद्ले आगामी प्रधानन्यायाधीशका लागि राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो।
प्रधानन्यायाधिशमा राणाको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।
सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ।
२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गरेका राणालाई संसदीय सुनुवाइ विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।