काठमाडाैं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि मंगलबार बस्न तय भएको संवैधानिक परिषद्काे बैठक बस्दै नबसी सरेको छ। पुस ५ गते बस्नेगरी बैठक सरेको राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदै छन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले यसअघि २ जनाको नाम पठाएको थियो।
संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नुपर्ने थियो।
यसअघि बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।
सर्वोच्चका लागि न्याय परिषद्ले दिपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्वीकृत भएका थिए।
सर्वोच्चबाहेक परिषद्सँग विभिन्न आयोगहरुका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिका विषयमा छलफल हुने विषयसूची छ।
सुरुमा बैठक ११ः३० बजे बोलाइएको भएपनि नेताहरु उपस्थित हुन नसक्ने भएपछि ५ बजेलाई सारिएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेपछि बैठक स्थगित भएको हो।
हालका प्रधानन्यायाधीश मिश्र ३ सातामा अवकाश हुँदैछन्। बाहलवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै भावी प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।