काठमाडौं– नेपाली कांग्रेसले आगामी महासमिति बैठकमा एक करोड खर्च हुन सक्ने पूर्वानुमान गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार प्रस्तुत भएको राजनीतिक प्रस्ताव मस्यौदाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकमा हुने खर्चबारे पनि जानकारी दिए।
'अहिले अनुमानित खर्च मात्रै भन्न सकिएला। खास खर्च महासमिति बैठक सकिएपछि मात्रै भन्न सकिन्छ। खानपानदेखि सबै कुरामा करिब एक करोड बराबर खर्च हुने भन्ने हाम्रो अनुमान छ', शर्माले भने।
उनले महासमिति बैठकका लागि सम्पूर्ण तयारी सकिएको बताएका छन्।
'छाप्ने सामग्री, लगाउने ब्याच निर्माण भइसकेका छन्। त्यसमा २०७५ मंसिर २८ देखि पुस ३ सम्म नै लेखिएका छन्', महासमिति बैठक तोकिएकै समयमा हुने दाबी गर्दै शर्माले भने, 'देशभरिबाट साथीहरु आउने क्रम सुरु भइसक्यो। विदेशबाट पनि आउनुभइसक्यो। अब उहाँहरुले महासमिति बैठक स्थगन भएको सूचना लिएर जाने भन्ने हुँदैन।'
महासमिति बैठक सिंहदरबार अगाडिको योगाम्बर पार्टी प्यालेसमा हुने शर्माले जानकारी गराए। 'पहिले पार्टी कार्यालयमै गर्ने कुरा थियो', उनले भने, 'अहिले स्थान सरिसक्यो। बाँकी कुरा सर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।