काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको बिदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको बिदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
आफूहरुको पहिचानको रुपमा रहेका सांस्कृतिक चाडपर्वको बिदा कटौति खारेज गर्न माग गर्दै दबाबमूलक आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए।
महासंघले बिदा कटौति गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। कार्यक्रम अनुसार मंसीर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेका छन्।
त्यसैगरी महासंघले पुस १ गते नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।
पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पुस ३ गते प्रधानमन्त्री ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए।
महासंघले पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्नासमेत दिने कार्यक्रम तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।