काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले आप्रवासनमा रहेका श्रमिकका विषयमा प्रापक र प्रेशक देश गम्भीर हुनुपर्ने बताएका छन्।
आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा आयोजना गरिएको जीसीएम (ग्लोबल कम्प्याक्ट फर माइग्रेसन) महासभालाई सम्बोधन गदै विष्टले विभिन्न देशको साझेदारीका माध्यमबाट आप्रवासी श्रमिकले पाउने रोजगारीकाे गुणस्तर वृद्धि गर्न सकिने बताए।
जिसिएम महासभामा बोल्दै मन्त्री विष्टले विश्वमा श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारीसँग कामदारको रोजगार अधिकारमा ध्यान दिनुपर्ने समेत धारण राखेका थिए।
रोजगारीका नाममा मानव श्रमलाई मेसिनसँग तुलना गरी श्रम शोषण गरेर मानवीय क्षति पुर्याउनु नहुने उनले बताए।
मन्त्री विष्टले नेपालका तर्फबाट सम्बोधन गर्दै अन्तर्राष्ट्रिय मूल्य मान्यतामा रहेर आप्रवासी कामदारलाई समान गर्नुपर्ने जिकिर गरे।
आप्रवासनले सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा ठूलो सहयोग पुर्याएकाे छ। 'रोजगारदाता देशले कामदार आपूर्ति गर्दा अन्तर्राष्ट्रिय मापदण्डमा विषेश ध्यान दिनुपर्छ,’ मन्त्री विष्टले भने, 'रोजगारीका नाममा भइरहेको मानव तस्करी सबै देशका लागि चुनौतीका रुपमा खडा हुँदै छ। यसको समाधान चाँडै खोज्नुपर्छ।’
विष्ट कोलम्बो प्रोसेसका १२ देशहरूको नेतृत्व गर्दै मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम सम्मेलनमा सहभागी हुन मंसिर २१ गते गएका थिए।
मोरक्कोको माराकेसमा मंसिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।