काठमाडौं– डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता संकलन गरेका छन्।
एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत संकलन गरेको ४ सय ७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन्।
‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता संकलन अभियान चलाएको बताइन्।
डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनियर सशांक न्यौपानेले जानकारी दिए।
उनका अनुसार डोल्पाबासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता संकलनका लागि कलेजमा अभियान चलाइरहेको र पुसको पहिलो साता संकलित जुत्ता डोल्पा पुर्याएर वितरण गरिनेछ।
राजधानी काठमाडौंका एपेक्स, नामी, ब्रुकलेन, नेपाल इञ्जिनियरिङ कलेजलगायत ४० कलेजबाट जुत्ता संकलन गरिनेछ। आजको युगमा कोही पनि नाङ्गो खुट्टा हिँड्न नपरोस् भनेर आफूहरुले यो अभियान सुरु गरेको अध्यक्ष न्यौपानेको भनाइ छ।
कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यले काठमाडौंका युवाले लगाउन मिल्ने जुत्ता संकलन गरेर विकट गाउँका विद्यार्थीलाई वितरण गर्ने उद्देश्यले अभियान चलाइएको बताए।
यो अभियानअन्तर्गत लगाउन मिल्ने ‘सेकेण्ड हेण्ड’ जुत्ता संकलन गरिने छ।
विगतमा विभिन्न संस्थाले जाडोमा न्यानो सिरक, कम्बल तथा अन्य लत्ताकपडा वितरण गर्ने गरेको सन्दर्भमा जाडोमा जुत्ता नयाँ अभियान हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।