कञ्चनपुर– भीमदत्त नगरपालिका वडा नं ७ बालश्रममुक्त वडा बन्ने भएकाे छ। वडालाई श्रम मुक्त वडा बनाउन कार्यविधि तयार गरिएकाे वडाध्यक्ष शंकर कुँवरले बताए।
उनका अनुसार १६ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन नपाइने व्यवस्थासहित कार्य योजना तयार पारिको हो।
वडा कार्यालयले बाल श्रम उन्मुलन तथा न्यूनिकरण कार्यक्रम अन्तर्गत कानुनी विज्ञको सल्लाहमा तयार पारेको कार्य योजना कार्यपालिकामा पेस गर्ने तयारी भइरहेको छ।
कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएमा वैधानिकता पाउने छ।
वडाध्यक्ष कुँवरले नगरपालिकाले नै समग्र नगरलाई बाल श्रममुक्त क्षेत्र बनाउनु आवश्यक रहेको बताए।
भीमदत्त नगरपालिकाकी उप–प्रमुख शुसिला चन्द सिंहले नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइ बालबालिकाको अधिकार सुनिश्चत गरिने बताइन्।
त्यस्तै बाल अधिकारको क्षेत्रमा क्रियाशील युवा अभियन्ता धिरज जोशीले बाल अधिकारको सुनिश्चतताका लागी कार्यविधि स्थानीय स्तरबाट पहल गरी कार्यान्वयन गरिनु पर्ने बताए।
साथै वडा कार्यालयले बाल अधिकार सुनिश्चताका लागी तयार पारेको कार्यविधि निकै स्वागत योग्य रहेकाले त्यसलाई समग्र रुपमा नगरपालिकाले नै आत्मसाथ गरी अगाडी बढ्न उनले अाग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।