काठमाडौं- महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बढ्दो बलात्कारका घटनाका विषयमा ध्यानाकर्षण गराएको छ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाइएको ध्यानाकर्षणपत्रमा देशमा बढ्दै गइरहेको बलात्कारका घटनाले नेपालीहरुको शिर निहुरिएको उल्लेख गरिएको छ।
संविधान प्रदत्त प्रावधानहरुको महिलाहरुले व्यवहारमा महसुस गर्न नपाएको प्रति सरकारलाई स्मरण गराइएको छ। सञ्जालले महिला हिंसा अन्त्यका लागि १४ बुँदे माग प्रधानमन्त्री समक्ष राखेको छ।
महिला तथा बालिकामाथि भएका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै सञ्जालले हत्यामा सघाउने सबै पीडकहरुको सत्य तथ्य उचित अनुसन्धानको माध्यमबाट अविलम्ब बाहिर ल्याई दोषीलाई हदैसम्मको कारबाही गर्न भनेको छ।
पीडित बालिकाहरुको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्शका साथै शिक्षा, जीविकोपार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक पुन:एकीकरणको व्यवस्था गर्न पनि सञ्जाललको माग छ।
फौजदारी संहितामा रहेको बलात्कारका दोषीलाई विभिन्न उमेर समूहका आधारमा फरकफरक सजायको व्यवस्था गर्न,बलात्कारीलाई सर्वस्वहरणसहित आजीवन कैदको व्यवस्था, हिंसाको सम्बोधन गर्ने उचित संयन्त्रको विकास गर्न, सामुदायिक प्रहरीको व्यवस्था गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।