काठमाडाैं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले थप चार वटा नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। निगमले सन् २०१९ को फेब्रुअरी, मार्च, अप्रिल र मे महिनामा थप चार वटा नयााँ गन्तव्यमा उडान गर्ने घोषणा गरेको हो।
‘फेब्रुअरी पहिलो सातादेखि जापानको ओसाका उडानको तयारी पूरा भएको छ’, निगमका प्रवक्ता अशोक सिग्देलले भने, ‘त्यसलगत्तै मार्चमा चीनको गोङ्जाओ उडान सुरु हुन्छ।’ लामो समयदेखि नयाँ गन्तव्यमा उडान गर्न सकेको थिएन।
नयाँ गन्तव्यमा नियमित उडान गर्न निगमलाई इयूको कालोसूचीले पनि असर गरेको थियो। तर, इयूको कालोसूची निरन्तर रहे पनि निगमले चार नयाँ गन्तव्यमा त्यहाँको नागरिक उड्ड्यन प्राधिकरणको सहमतिमा उडान गर्न लागेको हो।
निगमले जापानको ओसाका र चीनको गोङ्जाओ उडानको तयारीसँगै कोरिया र साउदी अरबको उडान तयारी पनि थालेको छ। निगमले आगमी अप्रिलदेखि साउदी अरब र मेदेखि कोरिया उडान गर्ने घोषणा गरेको हो।
निगमले मेदेखि कोरिया उडान गर्ने भने पनि कोरियन नागरिक उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सको अडिट भने गर्न सकेको छैन।
कोरियन टोली नेपाल आएर अडिट गर्न चाहे पनि प्राधिकरण र निगमको लापरबाहीका कारण अगाडि बढ्न सकेको छैन। यो चार नयाँ गन्तव्यमा उडान थालेसँगै १० देशका १२ गत्तव्यमा निगमको जहाज पुग्ने छ।
अहिले निगमका जहाजले ६ देशका आठ गन्तव्यमा उडान गर्दै आएको छ। नेवानिसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा वाइडबडी ए३३०–२००, दुई वटा न्यारोबडी ए३२०–२०० र एक बोइङ मार्फत उडान गर्दै आएको छ। पछिल्लो सयम नेवानिमाथि नयाँ गन्तव्य विस्तार गर्न नसकेको आरोप लागको थियो।
नेवानिले नयाँ दुई वटा वाइडबडी जहाज उडान थालेसँगै त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीमध्ये सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी समेत भइसकेको छ। नेवानिले ९ प्रतिशत रहेको बजार हिस्सा अहिले बढाएर १३ प्रतिशत पुर्याएको छ।
चीन र जापानका कन्ट्री म्यानेजर तय
निगमले नयाँ गन्तव्यको उडान तयारीसँगै चीन र जापानका लागि कन्ट्री म्यानेजर समेत चयन गरको छ। निगम सञ्चालन समितिले चीनका लागि शैलेस कंसाकार र जापानका लागि सन्तोष पाण्डेलाई नियुक्त गरेको हो।
कंसाकार निगमका सहायक प्रवक्ता हुन भने पाण्डे कायममुकायम उपनिर्देशक हुन्। चीन र जापानबाट उडान अनुमतिपत्र आइसकेपछि उडान तालिका र भाडादर निर्धारण गर्ने निगमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।