काठमाडौं– फिल्म ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौंको क्युज सिनेमा हलमा पत्रकार सम्मेलन गरी ‘नाच माया...’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा गायक हेमन्त रानाको स्वर रहेको छ भने हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू गौरव पहाडी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंहको नृत्य देख्न सकिन्छ।
यसअघि ‘साइँली’ गीत मार्फत चर्चा कमाएझैं फिल्ममा पनि गौरव र मेनुका जोडीको प्रस्तुति दमदार हुने निर्माण युनिटको भनाइ छ।
जिएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई चर्चित गीत ‘साइँली’को नामबाट निर्माण गरिएको हो। उक्त गीतमा देखाइएको भाव नै कथावस्तुका रुपमा राखिएको निमार्ण पक्षले जानकारी गराएको छ।
रामबाबु गुरुङको निर्देशन र लेखन रहेको फिल्म चैत १५ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी छ। गायक हेमन्त राना र गौरव पहारीले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन्।
माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की, पुष्कर गुरुङ, लोकेन्द्र लेखकलगायतका कलाकारहरूको पनि अभिनय छ।
यसैगरी फिल्ममा कालीप्रसाद बास्कोटा र सुशान्त गौतमको संगीत, शैलेन्द्र डी. कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।