एजेन्सी : चीनको सत्ताधारी पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं कंग्रेस बुधबार राजधानी बेइजिङको द ग्रेट अल अफ द पिपुलमा सुरु भइसकेको छ।
पार्टी कंग्रेसले आगामी राष्ट्रपतिसहित पार्टीको नेतृत्वको टुंगो लगाउनेछ । साथै आगामी पाँच वर्षमा चीनले लिने नीतिको पनि घोषणा गरिनेछ।
आगामी साता सकिने पार्टी कंग्रेसले पार्टी केन्द्रिय समिति, पोलिट ब्युरो र स्थायी समितिको पनि टुंगो लगाउनेछ । पोलिट ब्युरो र स्थायी समितिमा शासन सञ्चालनमा महत्वपूर्ण निर्णय र नीति निर्माण गर्ने नेताहरू रहन्छन् । अर्थात् चीनको शासन प्रणाली पोलिट ब्युरो र स्थायी समिति सबैभन्दा शक्तिशाली हुन्छन्।
अर्को पाँच वर्ष पनि राष्ट्रपति सी जिनपीङले नै पार्टी र देशको नेतृत्व सम्हाल्ने अनुमान गरिएको छ । चीनको सबैभन्दा शक्तिशाली पद पार्टी महासचिवको पद सम्हाल्नासाथ पार्टी र प्रशासनमा रहेको भ्रष्टाचार अन्त्य गर्न अभियान थालेका उनी अहिले पार्टीभित्र यति शक्तिशाली छन् कि उनलाई यसपल्टको कंग्रेसमा चुनौती दिने अन्य नेता देखिएका छैनन्।
अहिलेसम्म पनि उनले आफ्नो उत्तराधिकारी अघि नसारेकाले पनि उनी नै फेरि पार्टी महासचिव र राष्ट्रपति हुने अनुमान सबैले गरेका हुन् । उनका राजनीतिक सिद्धान्तहरू पार्टीको चार्टरमा समावेश गरिने तथ्यले उनलाई चीनका महान नेता माओत्से तुङ र देङ स्याओपिङको समकक्षमा उभ्याएको मात्र छैन पार्टीभित्र उनी कति शक्तिशाली छन् त्यसको छनक पनि दिएको छ।
कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सिले गत पाँच वर्षका उपलब्धिहरूको बयान गरे र आगामी पाँच वर्षका योजनाबारे बताए । अहिले चीनले आफ्नो रणनीति सन् २०२१ केन्द्रित गरेको छ।
कंग्रेसमा उनले पेस गरेको आगामी पाँच वर्षका योजनामाथि देशभरका २ हजार २ सय ८७ प्रतिनिधिले छलफल गर्नेछन् । २२ सय ८७ कंग्रेस प्रतिनिधिले केन्द्रीय समिति छनोट गर्नेछन् । केन्द्रिय समितिबाट २५ सदस्यीय पोलिट ब्युरोको चुनाव हुनेछ । पोलिट ब्युरोबाट ७ जनाको स्थायी समिति चयन हुनेछ । स्थायी समिति नै चीनको शासन र पार्टीमा सर्वाधिक शक्तिशाली मानिन्छ।
सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्ष पूरा गर्दैछ । त्यतिन्जेलसम्म पार्टीले समृद्ध चीनको नारामा जोड दिइरहनेछ।
सन् २०४९ मा भने पिपुल्स रिपब्लिक अफ चाइना स्थापनाको सय वर्ष पूरा हुनेछ । सन् २०२१ देखि २०४९ सम्म चीन आधुनिक समाजवादी राष्ट्र बन्ने लक्ष्य हासिल गर्न चाहन्छ।
सि फेरि राष्ट्रपति हुँदा यसको प्रत्यक्ष प्रभाव कस्तो पर्छ तत्काल आकलन गर्न कठिन छ।
तर चीनले आफ्नो आर्थिक विकास र सामुद्रिक नीतिसम्बन्धी लिएको एजेन्डाका कारण हिन्द महासागरमा यसको प्रभाव पर्नेछ । चीनको व्यापार होस् वा क्रुड पेट्रोलियम वा औद्योगिक कच्चा पदार्थ सबै हिन्द महासागर हुँदै भित्रिन्छ।
चीनले हिन्द महासागरमा पनि आफ्नो उपस्थिति बढाइरहेकाले खासगरी भारतसँग उसको टकराव बढ्न सक्छ । यसका साथै चीनले दक्षिण चीन समुद्रमा आफ्नो प्रभाव बढाइरहेको छ।कंग्रेसको सम्बोधनमा राष्ट्रपति सिले अन्तर्राष्ट्रिय राजनीतिमा चीनले भूमिका बढाउने संकेत दिएका छन् । अहिले चर्चामा रहेको ‘राइजिङ चाइना’मा दक्षिण चीन समुद्र र हिन्द महासागरमा चिनियाँ सामरिक उपस्थितिले भारत, जापान र अमेरिका चिन्तित हुनेछन्।
चीनले अघि बढाएको महत्वाकांक्षी वन बेल्ट वन रोड परियोजनाले चीनलाई स्थल र जलमार्गबाट युरोपसम्म जोड्ने छ । यो परियोजनामा दक्षिण एसियाका नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सहभागी हुँदा भारतले यसलाई आफूलाई घेर्ने चिनियाँ रणनीतिका रुपमा बुझेको छ र यसबाट सशंकित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।