पोखरा– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्की जिल्ला कारागारको अवलोकन गरेका छन्।
पञ्चायतविरुद्धको भूमिगत आन्दोलनका क्रममा सोही कारागारमा करिब एकवर्ष बिताएका अध्यक्ष तिमिल्सिनाले शनिबार त्यहाँ पुगेर थुनुवा तथा कैदी बन्दीको अवस्था बुझेका हुन्।
पञ्चायतविरुद्धको संघर्षको समयमा विसं २०४२ देखि २०४६ सालसम्म विभिन्न स्थानमा गरी अध्यक्ष तिमिल्सिना ४ वर्ष थुनामा परेका थिए। कास्की कारगारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तिमिल्सना केही समय सँगै बसेका थिए।
सो क्रममा उनले कैदी बन्दीको अवस्था, उनीहरुको सुविधा, सुत्ने स्थान, शौचालय, पुस्तकालय, खाना खाने मेसलगायत अवलोकन गरेका थिए। अध्यक्ष तिमिल्सिनासँगको भेटका क्रममा कैदी बन्दीका नाइकेले कास्की कारागारअन्तर्गत महिला ब्लक, पुरुषको पुरानो र नयाँ ब्लकको अवस्था र समस्याबारे जानकारी गराएका थिए।
अध्यक्ष तिमिल्सिनाले जेल जीवनका क्रममा आफू र प्रधानमन्त्री ओली बसेको कोठासमेत हेरेका थिए। अवलोकनपछि उनले जेलको अवस्था पहिलेभन्दा धेरै सुधार भएपनि सरकारले पछिल्लो समय भनेजस्तो सुधारगृह बन्न नसकेको टिप्पणी गरे। ‘जेल हामी बसेको समयभन्दा सफा र व्यवस्थित भएको रहेछ,’ उनले भने, ‘तर, सरकारले भनेजस्तो सुधारगृह बनाउनका लागि खाना, बस्न, स्वास्थ्य उपचारसँगै सीप तथा ज्ञानका लागि आवश्यक पूर्वाधार र अवसर जरुरी हुन्छ। त्यो अलि पर्याप्त देखिएन।’
कास्की कारागारमा ५३ महिला र ७ सय ५ जना पुरुष गरी ७ सय ५८ थुनुवा तथा कैदीबन्दी रहेको कारागारका निमित्त जेलर विष्णुप्रसाद सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।