जिरी- बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ।
मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्यो। बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पार्यो। बालकलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर सोधपुछ गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए।
संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो।
प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पुर्यायो। बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए।
बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जङ्गलमा लुकाएर राखिएको अवस्थामा भेटियो। पाठकले निवेदन माग गरेका एउटा क्यामेरा बाहेकका सबै सामान ती बालकबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए।
बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामान चोरी भएका थिए। सामान चोरी भएको थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिएका थिए।
यो घटनापछि दोलखाको गौरीशङ्कर बालगृहका बालबालिका चोरीका घटनामा संलग्न भएको पाइएको छ। अहिले प्रहरीले ती बालक चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।